Breaking Nepal

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न भएको परिस्थितिबारे अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सभामुखले सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएका छन्।
सङ्घीय संसद् सचिवालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा उत्पन्न घटनाबारे सभामुखलाई जानकारी गराइएपछि जेठ १८ गते बसेको बैठकले थप अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो।
उक्त निर्णयअनुसार प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख तथा प्रविधि व्यवस्थापन महाशाखाका प्रमुख सदस्य रहने गरी अध्ययन समिति गठन गरिएको थियो।
समितिले जेठ २५ गते सभामुखसमक्ष प्रतिवेदन पेस गरेको थियो। प्रतिवेदन अध्ययनपछि आवश्यक सुझाव कार्यान्वयन गर्न सभामुखले सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएको सचिवालयले जनाएको छ।