Breaking Nepal

पर्वत– लगातार दुई दिनदेखि परेको वर्षापछि कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीले पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। नदीको जलसतह एकाएक बढेपछि शिला क्षेत्रका धार्मिक तथा भौतिक संरचनामा समेत क्षति पुगेको छ।
शालिग्राम विद्याश्रमका अनुसार शिलामा पुग्ने बाटो, परिक्रमा स्थल, सत्तल तथा अन्य संरचना पूर्ण रूपमा पानीमुनि परेका छन्। कालीगण्डकीको बहाव बढेसँगै शालिग्राम शिलाको दर्शन र नियमित पूजाआजा अनिश्चितकालका लागि रोकिएको छ। शिला क्षेत्रमा बस्दै आएका पुजारी तथा पण्डितसमेत विस्थापित भएका छन्।
स्थानीयका अनुसार सेतीखोला र कालीगण्डकीको संगमस्थलमा पानीको बहाव अत्यधिक बढ्दा शिला संरक्षणका लागि निर्माण गरिएको तटबन्ध तथा ग्याबियन जालीसमेत पुरिएको छ। सुरक्षा जोखिम बढेपछि प्रशासनले शिला क्षेत्रमा प्रवेश गर्न रोक लगाएको छ।
बाढीका कारण धार्मिक सम्पदामात्र प्रभावित नभई सेतीवेणी बजार पनि उच्च जोखिममा परेको छ। कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पानीको चाप बढ्दा नदीको बहाव बजारतर्फ फर्किने जोखिम रहने गरेको स्थानीयको भनाइ छ। नदीमा पानीको सतह बढ्नेबित्तिकै पर्वत, स्याङ्जा र गुल्मीको सीमाक्षेत्रमा रहेको सेतीवेणी बजारका करिब दुई सय व्यवसायी र स्थानीय त्रासमा बस्नुपर्ने अवस्था दोहोरिने गरेको छ।
दुई वर्षअघि साउनमा आएको बाढी बजारसम्म प्रवेश गर्दा एक घर पूर्ण रूपमा भत्किएको थियो भने आधा दर्जनभन्दा बढी घर विस्थापित भएका थिए। स्थानीय जनप्रतिनिधिहरूले नदीको बहाव व्यवस्थापन नगरेसम्म सेतीवेणी क्षेत्रको जोखिम नघट्ने बताएका छन्। उनीहरूले गुल्मीतर्फबाट नदीको बहाव मोडेर शालिग्राम शिला र बजार क्षेत्र दुवैको दीर्घकालीन संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
शालिग्राम शिला आसपास पर्ने पर्वतको विहादी गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाबीच समन्वय गरी एकीकृत संरक्षण योजना अघि बढाउनुपर्नेमा स्थानीय तहले जोड दिएका छन्।
यता जिल्ला प्रहरी कार्यालय पर्वतले निरन्तर वर्षाका कारण नदी तथा खोलामा बाढी र पहिरोको जोखिम उच्च रहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ। मौसममा सुधार नआएसम्म सतर्कता अपनाउन र जोखिमपूर्ण गतिविधिबाट टाढा रहन प्रहरीले अनुरोध गरेको छ।