Breaking Nepal

झापा / झापाको शिवसताक्षी नगरपालिका–८ ले घरपालुवा कुकुरको अनिवार्य दर्ता प्रणाली लागू गरेको छ । अब वडा कार्यालयमा दर्ता नगरी घरपालुवा कुकुर पाल्न नपाइने व्यवस्था गरिएको छ । स्थानीय तहबाट यस्तो व्यवस्था लागू गर्ने झापाको यो पहिलो पहल भएको जनाइएको छ ।
सामुदायिक कुकुरको टोकाइका घटना बढ्दै गएपछि सार्वजनिक स्वास्थ्य, नागरिक सुरक्षा तथा पशु व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले वडा समितिले यस्तो निर्णय गरेको वडा अध्यक्ष सन्तकुमार फेउदिनले जानकारी दिए ।
वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सबै कुकुरधनीलाई आफ्ना घरपालुवा कुकुर अनिवार्य रूपमा दर्ता गराउन आह्वान गरेको छ । दर्ताका क्रममा कुकुरधनीको नाम, ठेगाना, सम्पर्क नम्बर, कुकुरको जात, उमेर, लिङ्ग, रङ, उचाइ, लम्बाइ, तौल, रेबिजविरुद्धको खोपको विवरण तथा कुकुर र कुकुरधनीको रङ्गीन फोटो पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
दर्ता अघि कुकुरधनीले वडा कार्यालयसँग जिम्मेवारीसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुपर्नेछ । दर्ता भएको कुकुर घर वा तोकिएको कम्पाउन्डबाहिर निस्किएर कसैलाई आक्रमण गरे उपचार खर्च, क्षतिपूर्ति तथा अन्य कानुनी दायित्व सम्बन्धित कुकुरधनीले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाले तयार पारेको कार्यविधिमा सहमति नजनाउने व्यक्तिले वडा क्षेत्रमा कुकुर पाल्न नपाउने व्यवस्था पनि गरिएको छ । फेउदिनका अनुसार कुकुर पालेर पछि जथाभावी छाड्ने प्रवृत्तिका कारण रेबिजको जोखिम बढ्नुका साथै सडक दुर्घटनासमेत बढेकाले कुकुरको कानुनी अभिलेखीकरण आवश्यक भएको हो ।
हालसम्म १२ जना कुकुरधनीले आफ्ना घरपालुवा कुकुर दर्ता गराइसकेका छन् । ‘किलियो’, ‘काली’, ‘ओरियो’, ‘डेजी’, ‘जेनी’, ‘बच्ची’, ‘सेन्जो’, ‘टोमी’, ‘पाङ्ग्रे’ र ‘लुसी’ लगायतका कुकुर दर्ता भइसकेका वडा कार्यालयले जनाएको छ ।
कुकुर दर्ता गराउन पुगेका स्थानीय गंगाप्रसाद दाहालले वडा समितिको निर्णयको स्वागत गर्दै सबै कुकुरधनीलाई दर्ता गर्न, कुकुरलाई खुला रूपमा नछाड्न तथा समयमै रेबिजविरुद्धको खोप लगाउन आग्रह गरे ।
वडा सदस्य रिता लामाले अभियानले नागरिक र पशु दुवैको हित संरक्षण गर्ने बताइन्। उनका अनुसार कुकुर दर्ताको उद्देश्य कसैलाई नियन्त्रण गर्नु नभई जिम्मेवार पालन संस्कृतिको विकास गर्दै सुरक्षित समाज निर्माण गर्नु हो । उनले घरपालुवा तथा सामुदायिक कुकुर–बिरालोलाई वर्षमा कम्तीमा एकपटक रेबिजविरुद्धको खोप लगाउनुपर्नेमा पनि जोड दिइन् ।
शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा ‘रोषण’का अनुसार वडा नम्बर ८ मा सामुदायिक कुकुरको टोकाइबाट घाइते भएका नौ जनालाई नगरपालिकाले रेबिजविरुद्धको खोपसहित प्रतिव्यक्ति १० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइसकेको छ ।
वडा नम्बर ८ मा करिब २५० घरपालुवा कुकुर रहेको अनुमान गरिएको छ । ती सबैलाई दर्ताको दायरामा ल्याउने लक्ष्यका साथ अभियान अघि बढाइएको वडा अध्यक्ष फेउदिनले बताए । उनका अनुसार यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए स्थानीय तहमा पशु व्यवस्थापन, सार्वजनिक स्वास्थ्य र नागरिक सुरक्षाको क्षेत्रमा नयाँ मापदण्ड स्थापित हुने अपेक्षा गरिएको छ ।