Breaking Nepal

काठमाडौं– सरकारले अनुचित लेनदेन (मिटरब्याज) नियन्त्रणका लागि विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजसम्बन्धी आयोगहरूले दिएका सिफारिस गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बैठकले विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ। साथै नेपाल वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको छ।
त्यसैगरी मन्त्रिपरिषद्ले बिउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता पोखरेलले बताए।
सरकारले विभिन्न सञ्चारमाध्यम अगाडि भएका शंकास्पद पार्किङ घटनाबारे पनि ध्यानाकर्षण भएको जनाएको छ। उक्त घटनामा संलग्न जोसुकै भए पनि प्रचलित कानुनअनुसार कारबाही गरिने सरकारको स्पष्ट धारणा रहेको प्रवक्ता पोखरेलले बताए।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.






