Breaking Nepal

विराटनगर– कोशी प्रदेश सरकारले स्थानीय उद्योगको प्रवर्द्धन र स्वदेशी उत्पादनको खपत बढाउने उद्देश्यले सरकारी कर्मचारीका लागि स्थानीय उत्पादनबाट बनेका कार्यालय पोसाक सातामा दुई दिन अनिवार्य गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अबदेखि प्रदेश सरकारअन्तर्गतका कर्मचारीले प्रत्येक बुधबार र शुक्रबार ढाका, खाँडी तथा अल्लोका कपडाबाट बनेका पोसाक अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था लागू गरिएको हो।
स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्न सरकारले कर्मचारीलाई उपलब्ध गराउने वार्षिक पोसाक भत्तामा प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ थप गरेको छ। यो रकम स्थानीय उत्पादनबाट पोसाक खरिद गर्न लक्षित गरिएको जनाइएको छ।
सरकारको निर्णयसँगै सामाजिक विकास मन्त्रालयका कर्मचारीले मंगलबारदेखि नै स्थानीय उत्पादनबाट तयार गरिएका पोसाक प्रयोग गर्न थालेका छन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्थानीय उत्पादनको प्रयोगलाई सरकारी कार्यालयबाट सुरु गरी प्रदेशभर विस्तार गर्ने नीति लिइएको बताए। उनका अनुसार आर्थिक वर्ष २०८३/८४ देखि कोशी प्रदेशभित्रका स्थानीय तहले पनि यो अभियान लागू गर्न चाहेमा प्रदेश सरकारले लागत साझेदारी गर्ने व्यवस्था गर्नेछ।
प्रदेश सरकारले यो अभियानबाट ढाका, खाँडी र अल्लोजस्ता कोशीको पहिचानसँग जोडिएका परम्परागत वस्तुको उत्पादन, बजारीकरण र उपभोगमा वृद्धि हुने अपेक्षा गरेको छ। यसले स्थानीय उद्योग, उद्यमी तथा सीपमा आधारित व्यवसायलाई टेवा पुग्नुका साथै प्रदेशको आन्तरिक अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने सरकारको विश्वास छ।