२२ जिल्लाका नदीमा बाढीको जोखिम, पहाडी र तराईका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

Breaking Nepal

बुधबार ,असार ३१ , २०८३ ०९:५९

काठमाडौं । अविरल वर्षासँगै देशका २२ जिल्लाका नदी तथा खोलामा आज बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने जनाएको छ।

विभागका अनुसार पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, लम्जुङ, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, प्युठान र दाङका नदी तथा खोलामा पानीको सतह बढ्ने सम्भावना रहेको छ।

विशेषगरी पहाडी क्षेत्रका साना नदी तथा खोलामा आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको भन्दै नदी किनार, तटीय बस्ती र डुबान हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ।

मौसम पूर्वानुमानअनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेशसँगै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

यस्तै, रातिको समयमा कोशी प्रदेशको पहाडी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा पनि भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

वर्षासँगै नदी तथा खोलाको बहाव तीव्र हुन सक्ने भएकाले नदी तर्ने, तटीय क्षेत्रमा बसोबास गर्ने र जोखिमयुक्त स्थानमा आवतजावत गर्नेले आवश्यक सावधानी अपनाउन विभागले सचेत गराएको छ।