Breaking Nepal

काठमाडौं– बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ।
केन्द्रीय बैंकले बुधबार सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन गर्न बोलकबोल खुला गरेको जनाएको छ।
राष्ट्र बैंकका अनुसार बोलकबोलमा सहभागी हुने संस्थाले निक्षेप गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर दशमलवपछिका चार अंकसम्म उल्लेख गरी प्रस्ताव पेश गर्नुपर्नेछ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ भने अधिकतम आह्वान गरिएको कुल रकमसम्म पाँच करोड रुपैयाँले भाग जाने गरी प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता नियन्त्रण, अन्तरबैंक ब्याजदर सन्तुलन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन समय–समयमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। पछिल्लो बोलकबोल पनि सोही नीतिअनुसार बजारबाट अतिरिक्त तरलता खिच्ने उद्देश्यले जारी गरिएको हो।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.






