संयुक्त राष्ट्रसङ्घीय प्रहरी सम्मेलनबाट फर्किए नेपाल प्रहरी र एपीएफ प्रमुख

Breaking Nepal

बुधबार ,असार ३१ , २०८३ १४:१५

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका महानिरीक्षक नारायणदत्त पौडेल पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखको शिखर सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुवै सुरक्षा निकायका वरिष्ठ अधिकृतले उनीहरूको स्वागत गरेका थिए। स्वागतमा प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षकलगायत उच्च अधिकारीको उपस्थिति रहेको थियो।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा असार २३ र २४ गते आयोजित सम्मेलनमा विश्वका विभिन्न मुलुकका प्रहरी नेतृत्वबीच शान्ति स्थापना, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य तथा संस्थागत क्षमता अभिवृद्धिसम्बन्धी विषयमा छलफल भएको थियो।

सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ र सदस्य राष्ट्रका प्रहरी संगठनबीचको सहकार्य, आधुनिक प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय, लैङ्गिक उत्तरदायित्व, भाषा तथा व्यावसायिक प्रशिक्षण र उच्चस्तरीय प्रहरी सञ्जाल विस्तारका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

न्युयोर्क बसाइका क्रममा कार्की र पौडेलले संयुक्त राष्ट्रसङ्घका अधिकारी तथा विभिन्न मुलुकका सुरक्षा नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्दै शान्ति मिसन, सुरक्षा सहकार्य र क्षमता विकासका विषयमा छलफल गरेका थिए। उनीहरू सम्मेलनमा सहभागी हुन असार २१ गते अमेरिका प्रस्थान गरेका थिए।