शाहीको आरोप– प्रचारमुखी राजनीतिले विकास होइन, बर्बादी निम्त्याउँछ

Breaking Nepal

बुधबार ,असार ३१ , २०८३ १४:३०

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा अल्झिएको आरोप लगाएका छन्। उनले यस्तो प्रवृत्तिले मुलुकको विकास सम्भव नहुने भन्दै राज्यका संस्थालाई सुदृढ बनाउनेतर्फ सरकार केन्द्रित हुनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले राजनीतिक नेतृत्वले क्षणिक प्रचारभन्दा जनताको दीर्घकालीन आवश्यकता र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनका अनुसार मुलुकको मूल राजनीतिक एजेन्डा विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय हुनुपर्ने हो।

उनले जनताले गुणस्तरीय पूर्वाधार, रोजगारी, आर्थिक अवसर र प्रभावकारी सार्वजनिक सेवा अपेक्षा गरिरहेको उल्लेख गर्दै सरकार भने प्रचारमुखी गतिविधिमै सीमित भएको टिप्पणी गरे।

‘जनताले भौतिक पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय खोजेका छन्,’ उनले भने, ‘तर अहिले मूल मुद्दा ओझेलमा परेका छन्। सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा केन्द्रित छ। यस्ता गतिविधिले देश निर्माण होइन, बर्बादीतर्फ धकेल्छ।’

शाहीले राष्ट्रको दीर्घकालीन हित सुनिश्चित गर्न संस्थागत सुशासन, नीतिगत स्थायित्व र विकासमुखी राजनीतिलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे।