Breaking Nepal

इटहरी / नयाँ आर्थिक वर्ष २०८३/८४ प्रारम्भसँगै इटहरी उपमहानगरपालिकाले राजस्व संकलनसम्बन्धी सम्पूर्ण सेवा एक साताका लागि अस्थायी रूपमा स्थगित गरेको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा नयाँ आर्थिक ऐनअनुसारका व्यवस्था अद्यावधिक गर्नुपर्ने भएकाले साउन १ गतेदेखि ७ गतेसम्म सेवा बन्द गरिएको हो ।
उपमहानगरपालिकाले शुक्रबार जारी गरेको सूचनाअनुसार नगर कार्यपालिकाको कार्यालयसँगै मातहतका सबै वडा कार्यालयबाट प्रवाह हुने कर, शुल्क तथा अन्य राजस्व संकलनसम्बन्धी सेवा उक्त अवधिभर सञ्चालन हुने छैनन् ।
उपमहानगरपालिकाका अनुसार आर्थिक ऐन, २०८३ मा समेटिएका नयाँ राजस्वसम्बन्धी व्यवस्था प्रणालीमा प्रविष्ट तथा अद्यावधिक गर्ने प्राविधिक कार्य भइरहेकाले सेवा अस्थायी रूपमा रोक्नुपरेको हो ।
यस अवधिमा घरजग्गा कर, सम्पत्ति कर, व्यवसाय कर, विभिन्न सिफारिस शुल्कलगायत राजस्वसम्बन्धी कुनै पनि भुक्तानी तथा सेवा उपलब्ध नहुने जनाइएको छ। यसले सेवाग्राहीलाई आवश्यक कर तथा शुल्कसम्बन्धी काम समयमै व्यवस्थापन गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ ।
उपमहानगरपालिकाले सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै प्रणाली अद्यावधिकको कार्य सम्पन्न भएपछि साउन ७ गतेपछि सबै राजस्व सेवा नियमित रूपमा सञ्चालनमा आउने जनाएको छ ।