Breaking Nepal

विराटनगर / विराटनगरस्थित विराट स्पोर्ट्स जोनमा आयोजना गरिएको ‘गो–कार्ट किड्स च्याम्पियनसिप २०२६’ सम्पन्न भएको छ ।
बालबालिकामा मोटर स्पोर्ट्सप्रतिको रुचि विकास गर्दै उनीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा जुनियरतर्फ अनुभव खनाल र सिनियरतर्फ सौर्य सिग्देल च्याम्पियन बने ।
प्रतियोगिता ‘भाइरल इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट’ र ‘द विज्ञापन’ को संयुक्त आयोजनामा भएको हो । विजेता तथा सहभागीलाई ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईले यस्ता प्रतियोगिताले बालबालिकामा खेल संस्कृतिको विकास गर्न सहयोग पुग्ने बताए । आगामी दिनमा क्रिकेट, फुटबल र फुटसललगायतका खेल गतिविधि विस्तार गर्दै बाल प्रतिभालाई प्रोत्साहन गर्ने योजना रहेको उनले उल्लेख गरे ।
आयोजकका अनुसार प्रतियोगिताले बालबालिकालाई प्रतिस्पर्धात्मक वातावरणसँग परिचित गराउनुका साथै खेलप्रति आत्मविश्वास र अनुशासन विकास गर्न समेत सहयोग पुगेको छ ।