Breaking Nepal

जनकपुरधाम । सुनसरीमा भएको घटनापछि धनुषामा पनि सामाजिक तथा धार्मिक संवेदनशीलता बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्लाका सरोकारवालाले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जोगाउन संयुक्त प्रतिबद्धता जनाएका छन्।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय सद्भाव बैठकले हिंसा, तोडफोड, आगजनी तथा सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्याउने गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाउने निर्णय गरेको हो। यस्ता कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने सहमति भएको छ।
बैठकले फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमार्फत धार्मिक विद्वेष, घृणा र साम्प्रदायिक तनाव फैलाउने सामग्रीको निगरानी बढाउने तथा यस्ता गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित निकायले समन्वयात्मक रूपमा काम गर्ने निर्णय पनि गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जिल्लामा रहेका विभिन्न धर्म, जातजाति, भाषा र समुदायबीचको आपसी विश्वास तथा भाइचाराको सम्बन्ध थप सुदृढ बनाउन राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, समुदायका अगुवा, स्थानीय तहका जनप्रतिनिधि र सामाजिक संघसंस्थाले सक्रिय भूमिका निर्वाह गर्ने सहमति भएको छ।
बैठकले सामाजिक सद्भाव बिथोल्ने तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई मुलुकी अपराध संहिता, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णयसमेत गरेको छ।
बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार चौधरी, हिन्दु तथा मुस्लिम समुदायका प्रतिनिधि, विभिन्न राजनीतिक दल, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.









