Breaking Nepal

विराटनगर । करिब चार वर्षदेखि बायाँ हिपको जोर्नीसम्बन्धी जटिल समस्याबाट पीडित सिरहाका रामवृक्ष महराले जीवन विकास सामुदायिक अस्पताल तथा प्राविधिक शिक्षा प्रतिष्ठानमा सफल हिप प्रत्यारोपण शल्यक्रियापछि पुनः सामान्य जीवनतर्फ फर्किन थालेका छन् ।
अस्पतालका अनुसार वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका बेला महरामा हिपको समस्या देखिएको थियो । समयसँगै जोर्नीको चलायमान क्षमता लगातार घट्दै जाँदा अन्ततः हिपको जोर्नी लगभग पूर्ण रूपमा नचल्ने अवस्थामा पुगेको थियो । त्यसका कारण उनी हिँड्न, बस्न, सुत्न तथा दैनिक कामकाज गर्नसमेत असहज अवस्थामा पुगेका थिए ।
लामो समयसम्म समस्याबाट पीडित रहेका महराले उपचारका लागि जीवन विकास सामुदायिक अस्पताल रोजेका थिए । अस्पतालप्रति विश्वास व्यक्त गर्दै नेपालमै उपचार गराउने इच्छा जनाएपछि दुबईस्थित रोजगारदाता कम्पनीले समेत उपचारका लागि स्वीकृति दिएको थियो । त्यसपछि उनी नेपाल आएर अस्पतालमा भर्ना भएका थिए ।
आवश्यक स्वास्थ्य परीक्षण तथा चिकित्सकीय मूल्याङ्कनपछि अर्थोपेडिक शल्यचिकित्सक डा. अमरेन्द्र यादवको नेतृत्वमा महराको बायाँ हिपको प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार शल्यक्रियापछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । शल्यक्रिया सम्पन्न भएको करिब २४ घण्टामै हिपको जोर्नी पुनः चल्न थालेको र उनी हिँडडुलसहित दैनिक गतिविधि गर्न सक्ने अवस्थामा पुगेका छन् । लामो समयदेखि लगभग निष्क्रिय रहेको हिपको जोर्नी पुनः सक्रिय भएपछि उनको दैनिकी पनि सहज बन्दै गएको अस्पतालको भनाइ छ ।
सफल शल्यक्रियापछि महराले खुसी व्यक्त गर्दै लामो समयदेखि भोग्दै आएको शारीरिक कष्टबाट मुक्ति मिलेको बताएका छन् । हिँड्न, बस्न र सुत्नसमेत कठिन हुने अवस्था अन्त्य भई पुनः सामान्य रूपमा हिँडडुल गर्न सक्नु आफ्ना लागि नयाँ जीवन पाएजस्तै भएको उनको अनुभव छ ।
जीवन विकास सामुदायिक अस्पताल तथा प्राविधिक शिक्षा प्रतिष्ठानले दक्ष विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय स्वास्थ्य सेवामार्फत जटिल प्रकृतिका रोगहरूको उपचार गर्दै आएको जनाएको छ । अस्पतालले स्वदेशमै प्रभावकारी, भरपर्दो र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराई बिरामीलाई सहज उपचार प्रदान गर्नु आफ्नो प्राथमिकता रहेको उल्लेख गरेको छ ।