Breaking Nepal

सुनसरी / देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति र सोमबार भएको घटनापछि सुनसरीका तीन स्थानीय तहले शोक व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नसमेत उनीहरूले सम्बन्धित निकायसँग माग गरेका छन् ।
हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले मंगलबार स्थानीय शोक बिदा घोषणा गरेका छन् । कोशी गाउँपालिकाले भने छुट्टै शोक वक्तव्य जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ ।
हरिनगर गाउँपालिकाले घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था बन्द रहने जनाएको छ । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको विज्ञप्तिमा घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गरिएको छ । साथै सामाजिक सद्भावमा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन स्थानीयवासीलाई आग्रह गरिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाले पनि मंगलबार स्थानीय शोक बिदा दिएको छ । गाउँपालिकाले वडा कार्यालय, शैक्षिक संस्था, अत्यावश्यकबाहेकका स्वास्थ्य संस्था तथा मातहतका कार्यालय बन्द रहने जनाएको छ । सार्वजनिक सूचनामार्फत अफवाह फैलाउने, सामाजिक सञ्जालको दुरुपयोग गर्ने तथा साम्प्रदायिक सद्भाव खल्बल्याउने गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग पनि गाउँपालिकाले दोहोर्याएको छ ।
कोशी गाउँपालिकाले जारी गरेको शोक वक्तव्यमा देवानगन्ज–४ का ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको वक्तव्यमा घटनाको तथ्यपरक, पारदर्शी र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग आग्रह गरिएको छ ।
घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा सामाजिक शान्ति र सार्वजनिक सुव्यवस्थामा असर पुग्ने गतिविधि देखिएकोप्रति चिन्ता व्यक्त गर्दै कोशी गाउँपालिकाले सबै समुदायलाई संयमित व्यवहार गर्न, कानुनको पालना गर्न तथा सामाजिक सद्भाव र आपसी विश्वासलाई थप मजबुत बनाउन आह्वान गरेको छ ।