चिकित्सकको आन्दोलनमा कोशी शाखाको ऐक्यबद्धता : क्लिनिक र निजी अस्पताल पनि बन्द गर्न आह्वान

Breaking Nepal

मंगलबार ,साउन १२ , २०८३ १०:०५

विराटनगर / नेपाल चिकित्सक संघ कोशी शाखाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बढ्दो हिंसा, असुरक्षा र दण्डहीनताको अन्त्यका लागि सबै पक्षको साथ र ऐक्यबद्धता आवश्यक रहेको जनाएको छ ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमार्फत चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, नागरिक समाज, राजनीतिक दल तथा आम नागरिकलाई स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानको पक्षमा उभिन आग्रह गरेको हो ।

संघले चिकित्सकमाथि हुने आक्रमण कुनै व्यक्ति वा संस्थाको मात्र समस्या नभई देशभरका स्वास्थ्यकर्मीको सुरक्षित कार्य वातावरणसँग जोडिएको साझा विषय भएको उल्लेख गरेको छ ।

‘सुरक्षित स्वास्थ्यकर्मी बिना सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुँदैन,’ संघले भनेको छ ।

चिकित्सक संघले जारी आन्दोलनको उद्देश्य बिरामीलाई दुःख दिने वा स्वास्थ्य सेवा अवरुद्ध गर्ने नभएको स्पष्ट पारेको छ । आन्दोलनका क्रममा आकस्मिक सेवा, सघन उपचार कक्ष (आईसीयू), प्रसूति सेवा, डायलाइसिस लगायतका अत्यावश्यक सेवाहरू नियमित सञ्चालन भइरहेको संघले जनाएको छ ।

स्वास्थ्यकर्मीमाथि पटक–पटक हुने हिंसा, असुरक्षा र दोषीमाथि कारबाही नहुँदा चिकित्सकले भयमुक्त वातावरणमा सेवा दिन नसक्ने अवस्था सिर्जना भएको संघको भनाइ छ ।

राज्य, सम्बन्धित निकाय र नागरिक समाजले स्वास्थ्यकर्मीको सुरक्षाको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने संघले जनाएको छ ।

यसैबीच नेपाल चिकित्सक संघको केन्द्रीय समितिको निर्णयअनुसार सरकारी अस्पताल तथा सार्वजनिक स्वास्थ्य संस्थामा आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेका बेला निजी अस्पताल, नर्सिङ होम र क्लिनिकमार्फत नियमित सेवा सञ्चालन गरी आन्दोलनको उद्देश्य कमजोर नपार्न संघले चिकित्सक तथा स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ ।

आन्दोलनको भावना विपरीत निजी क्षेत्रबाट नियमित सेवा सञ्चालन गरिएको पाइएमा त्यसको नैतिक, व्यावसायिक र संस्थागत जिम्मेवारी सम्बन्धित चिकित्सक वा स्वास्थ्य संस्थाकै हुने संघले जनाएको छ ।

नेपाल चिकित्सक संघ त्यसप्रति जिम्मेवार नरहने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघका महासचिव डा. बालकृष्ण साहले चिकित्सक तथा स्वास्थ्यकर्मीको एकताबाट मात्रै सुरक्षा, सम्मान र न्यायको अभियान सफल हुने बताएका छन् ।

‘चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नभएसम्म सुरक्षित स्वास्थ्य सेवाको प्रत्याभूति हुन सक्दैन,’ साहले भनेका छन् ।

Desktop Popup ImageMobile Popup Image×