Breaking Nepal

विराटनगर / मोरङ जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र अनुमति नलिई डिजे प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व तथा धार्मिक कार्यक्रमलगायत कुनै पनि सार्वजनिक जमघटमा पूर्वस्वीकृतिबिना डिजे प्रयोग गर्न नपाइने स्पष्ट गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनाअनुसार जिल्लाभित्र आयोजना हुने कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रममा वा अन्य कुनै पनि स्थानमा प्रशासनबाट छुट्टै अनुमति जारी नभएसम्म डिजे प्रयोग गर्न निषेध गरिएको छ ।
प्रशासनले सूचनाको अवज्ञा गर्दै अनुमति नलिई डिजे सञ्चालन वा प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। सार्वजनिक शान्ति, सुरक्षा तथा ध्वनि प्रदूषण नियन्त्रणलाई मध्यनजर गर्दै यस्तो व्यवस्था लागू गरिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले सबै आयोजक, व्यवसायी तथा सर्वसाधारणलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ। प्रशासनका अनुसार नियम उल्लङ्घन गर्ने व्यक्ति वा संस्थामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ ।
उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा हस्ताक्षरित छ ।