देवानगञ्ज घटना : सुरक्षा त्रासले विराटनगरका अधिकांश विद्यालय र कलेज बन्द

Breaking Nepal

मंगलबार ,साउन १२ , २०८३ १२:३४

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा संवेदनशीलताको प्रभाव मोरङको शैक्षिक क्षेत्रमा समेत परेको छ । सुरक्षा जोखिम र यातायात सञ्चालनमा अनिश्चितता देखिएपछि मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेजले पठनपाठन स्थगित गरेका छन् ।

विराटनगर महानगरपालिकाले औपचारिक रूपमा बिदा घोषणा नगरे पनि विद्यालय बस सञ्चालनमा समस्या आउन सक्ने सूचना र विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राख्दै शैक्षिक संस्थाले आफ्नै निर्णयमा कक्षा सञ्चालन नगरेका हुन् ।

महानगरको शिक्षा महाशाखाका प्रमुख रामप्रसाद ढुंगेलका अनुसार विद्यालय बिदासम्बन्धी कुनै आधिकारिक निर्णय गरिएको छैन । तर सुरक्षा अवस्था र यातायातमा देखिएको असहज परिस्थितिलाई ध्यानमा राखेर अधिकांश विद्यालयले पठनपाठन रोक्ने निर्णय गरेका छन् ।

आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको थियो । घटनामा अन्य नौ जना घाइते भएका थिए । त्यसलगत्तै सोमबार विराटनगरमा प्रदर्शन भएको थियो भने त्यसको प्रभाव मंगलबार शैक्षिक क्षेत्रमा देखिएको हो ।

विराटनगरस्थित शिक्षादीप कलेजका प्राचार्य ज्ञानबहादुर खड्काका अनुसार बजार बन्दको आह्वान, सुरक्षा संवेदनशीलता र यातायात सञ्चालनमा देखिएको चुनौतीका कारण कक्षा सञ्चालन गर्ने अवस्था नरहेको निष्कर्षमा पुगिएको हो । उनका अनुसार देवानगञ्ज, हरिनगर, दुहबीलगायत क्षेत्रबाट ठूलो संख्यामा विद्यार्थी अध्ययनका लागि विराटनगर आउने भएकाले ती क्षेत्रमा विद्यालय बस सञ्चालन गर्न सम्भव नभएको हो ।

घटनापछि प्रभावित क्षेत्रमा निषेधाज्ञासमेत लागू भएकाले विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै मंगलबारका सबै कक्षा स्थगित गरिएको उनले बताए । केही विद्यार्थी उपस्थित हुन नसक्ने अवस्थामा विद्यालय सञ्चालन गर्नु पनि उपयुक्त नहुने उनको भनाइ छ ।

खड्काले बन्द, हड्ताल र आन्दोलनबाट शैक्षिक क्षेत्रलाई सकेसम्म बाहिर राख्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता गतिविधिले नियमित शैक्षिक तालिकामा प्रत्यक्ष असर पर्ने बताए । सार्वजनिक बिदा र पटक–पटकको अवरोधका कारण निर्धारित पाठ्यक्रम समयमै सम्पन्न गर्न विद्यालयमाथि थप दबाब परेको उनको भनाइ छ ।

प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोलले पनि विराटनगरका अधिकांश निजी विद्यालयले मंगलबार कक्षा सञ्चालन नगरेको जानकारी दिए । बजार बन्द र सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जोखिम मोल्न नसकिने निष्कर्षमा विद्यालय पुगेको उनले बताए ।

उनका अनुसार प्रदेश राजधानी विराटनगरका शैक्षिक संस्था मात्र प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बारम्बारको बन्दका कारण शैक्षिक क्यालेन्डर प्रभावित भइरहेको भन्दै सरोकारवाला निकायले यस्ता अवस्था लामो समयसम्म नरहने वातावरण बनाउनुपर्ने उनले बताए ।

डंगोलका अनुसार मोरङमा प्याब्सनसँग आबद्ध करिब २५० निजी विद्यालय सञ्चालनमा छन् । विगतका बिदा र अवरोधका कारण कतिपय विद्यालयले निर्धारित पाठ्यक्रम पूरा गर्न वर्षे बिदासमेत छोट्याएर कक्षा सञ्चालन गरिरहेका छन् ।

उता, देवानगञ्ज र हरिनगर गाउँपालिकाले घटनाको शोकमा सार्वजनिक बिदा दिएका छन् । प्रदर्शन र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै ती क्षेत्रका शैक्षिक संस्था पनि मंगलबार बन्द रहेका छन् ।

स्थानीय प्रशासनले सम्भावित अप्रिय घटना रोक्न प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ ।

Desktop Popup ImageMobile Popup Image×