Breaking Nepal

विराटनगर / सुनसरीको देवानगन्ज र कप्तानगन्ज क्षेत्रमा आन्दोलनको प्रभाव क्रमशः कम हुँदै गए पनि पूर्वपश्चिम राजमार्गअन्तर्गत पकलीदेखि कोशी ब्यारेजसम्मको सडकखण्ड आन्दोलनकारीको नियन्त्रणमा पुगेपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रदर्शनकारीले राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरोध गरेपछि पूर्व–पश्चिम जोड्ने मुख्य सडकमार्गमा सवारी आवागमन ठप्प बनेको हो । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सयौँ यात्रु बीच बाटोमै रोकिएका छन् भने मालवाहक सवारीसमेत लामबद्ध भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार देवानगन्ज र कप्तानगन्ज क्षेत्रमा अवस्था बिस्तारै नियन्त्रणमा आउँदै गएको छ । तर राजमार्ग क्षेत्रमा प्रदर्शन तीव्र बनेपछि सुरक्षा जोखिम बढेको भन्दै इटहरीबाट पश्चिमतर्फ जाने सवारी साधनलाई अस्थायी रूपमा रोकिएको छ ।
प्रहरीका अनुसार सडकमा आगजनीसहित अवरोध कायम रहेकाले दुर्घटना र अप्रिय घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालन रोकिएको हो । अवरोध हटाउन तथा राजमार्गको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदर्शनका कारण दैनिक उपभोग्य वस्तु बोकेका मालवाहक सवारी, सार्वजनिक बस तथा निजी सवारीसमेत प्रभावित भएका छन् । लामो समयसम्म सडक अवरुद्ध रहे आपूर्ति प्रणाली र व्यापारिक गतिविधिमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ ।
प्रहरीले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक प्रभावित क्षेत्रमा यात्रा नगर्न, यात्रा गर्नै परे वैकल्पिक मार्गको प्रयोग गर्न तथा सुरक्षा निकायले जारी गर्ने सूचनालाई निरन्तर पछ्याउन आग्रह गरेको छ । प्रशासनले प्रदर्शनकारीसँग संवादमार्फत अवस्था सामान्य बनाउने प्रयास जारी रहेको जनाएको छ ।