सुनसरीमा सुरक्षा सतर्कता उच्च, पकली–कोशी ब्यारेज सडकखण्डमा अनिश्चितकालीन कर्फ्यु

Breaking Nepal

मंगलबार ,साउन १२ , २०८३ १५:३०

विराटनगर / सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनापछि सुरक्षा अवस्था थप संवेदनशील बनेसँगै जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्युको दायरा विस्तार गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा मंगलबार जारी आदेशअनुसार मंगलबार अपराह्न ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्म इटहरी–इनरुवा सडकखण्डअन्तर्गत महेन्द्र राजमार्गको पकली चोकदेखि कोशी ब्यारेजसम्म कर्फ्यु लागू गरिएको हो।

यसअघि प्रशासनले देवानगञ्ज र आसपासका संवेदनशील क्षेत्रमा कर्फ्यु जारी गरेको थियो। पूर्व–पश्चिम राजमार्गमा लगाइएको कर्फ्यु मंगलबार बिहान हटाइए पनि कोशी कटान क्षेत्रमा आगजनी तथा लुटपाटका घटना भएपछि सुरक्षा जोखिम बढेको निष्कर्षसहित कर्फ्यु क्षेत्र पुनः विस्तार गरिएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार कर्फ्युको सीमा पूर्वतर्फ पकली चोक, पश्चिमतर्फ कोशी ब्यारेजको पुल तथा उत्तर–दक्षिणतर्फ महेन्द्र राजमार्गबाट दुवैतर्फ २०० मिटर क्षेत्रसम्म कायम गरिएको छ।

कर्फ्यु अवधिभर उक्त क्षेत्रमा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ। साथै मेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्नालगायत कुनै पनि सार्वजनिक गतिविधि सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख गरिएको छ।

प्रशासनले सुरक्षा अवस्था सामान्य नभएसम्म आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गर्दै शान्ति–सुरक्षा कायम गर्न सुरक्षा निकाय परिचालन गरिएको जनाएको छ।

Desktop Popup ImageMobile Popup Image×