सुरक्षित सिटीसफारी सञ्चालनमा महानगरको जोड, ट्राफिकलाई थप १ हजार ज्याकेट हस्तान्तरण

Breaking Nepal

बिहीबार ,जेष्ठ २१ , २०८३ ११:३८

विराटनगर / सिटीसफारी तथा सिटी रिक्सा सेवालाई थप व्यवस्थित, सुरक्षित र उत्तरदायी बनाउने उद्देश्यसहित विराटनगर महानगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई थप १ हजार थान ‘सुरक्षित चालक’ ज्याकेट उपलब्ध गराएको छ ।

महानगर र ट्राफिक प्रहरीबीचको सहकार्यमा सञ्चालन हुँदै आएको चालक पहिचान तथा व्यवस्थापन अभियानअन्तर्गत दोस्रो चरणमा उक्त ज्याकेट हस्तान्तरण गरिएको हो । यसअघि महानगरले १ हजार ६ सय थान ज्याकेट उपलब्ध गराइसकेको थियो ।

महानगरका जिन्सी शाखा प्रमुख अजयकुमार साह तथा कर्मचारी निश्चल मायालुले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई ज्याकेट हस्तान्तरण गरेका हुन् ।

ट्राफिक प्रहरीले ती ज्याकेट लाइसेन्स प्राप्त सिटीसफारी चालकलाई वितरण गर्ने जनाएको छ । ‘सुरक्षित चालक’ लेखिएको ज्याकेटमा प्रत्येक चालकका लागि छुट्टै परिचय नम्बर उल्लेख गरिएको हुन्छ । सो नम्बर ट्राफिक प्रहरीको डिजिटल प्रणाली (एप्स) मा दर्ता गरिएको रहने भएकाले आवश्यक पर्दा चालकको सम्पूर्ण विवरण तत्काल प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

ट्राफिक प्रहरी प्रमुख न्यौपानेका अनुसार यो प्रणालीले सार्वजनिक सवारी सञ्चालनमा पारदर्शिता र जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ । दुर्घटना गराएर फरार हुने चालकको पहिचान गर्न, यात्रुले गाडीमा सामान छुटाएमा सम्बन्धित चालकसम्म पुग्न तथा विभिन्न गुनासोको छिटो समाधान गर्न परिचय नम्बर प्रभावकारी माध्यम बन्ने उनले बताए ।

उनले सिटीसफारी सेवामा अनुशासन कायम गर्न र चालकको आधिकारिक पहिचान सुनिश्चित गर्न ज्याकेट वितरण कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गरे । “यात्रु र चालकबीच विश्वासको वातावरण निर्माण गर्न पनि यो अभियानले सहयोग पुर्‍याएको छ,” उनले भने ।

विराटनगर महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्रको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै पछिल्ला वर्षहरूमा विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । महानगरका अधिकारीहरूका अनुसार सिटीसफारी सेवा विराटनगरको दैनिक आवागमनको महत्वपूर्ण माध्यम भएकाले यसको सञ्चालनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने लक्ष्यका साथ ट्राफिक प्रहरीसँग सहकार्यलाई निरन्तरता दिइएको हो ।

महानगरको सहयोगमा वितरण गरिएका ज्याकेटले चालकको दृश्य पहिचान सहज बनाउनुका साथै यात्रु सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । विशेषगरी विद्यालय, बजार क्षेत्र तथा अत्यधिक भीडभाड हुने स्थानमा सञ्चालन हुने सिटीसफारी सेवामा चालकको अभिलेखीकरण र निगरानी प्रणाली प्रभावकारी हुँदा दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।