Breaking Nepal

काठमाडौं / सगरमाथा आधार शिविर क्षेत्रअन्तर्गत खुम्बु आइसफलमा करिब ६ दिनदेखि बेपत्ता रहेका पर्यटन श्रमिक तथा पर्वतारोहण गाइड दावा शेर्पा (हिलारी) जीवितै फेला परेका छन्। कठिन हिमाली परिस्थितिमा खोजी टोलीले उनलाई घिस्रिँदै तल झर्ने अवस्थामा फेला पारेको हो।
ओखलढुंगाका शेर्पा हिमालयन ट्राभर्स एडभेन्चरमा आबद्ध रहेको बताइएको छ। खोजी अभियानमा खटिएको एटके एक्सपिडिसनका प्रबन्ध निर्देशक पेम्बा शेर्पाका अनुसार, उनी अत्यन्त कमजोर अवस्थामा हिउँमा संघर्ष गर्दै तल झर्ने क्रममा भेटिएका थिए।
हिउँ र चिसोका कारण हातखुट्टा प्रभावित भएका शेर्पालाई तत्काल प्राथमिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। उनलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।
सगरमाथा क्षेत्रजस्तो अति जोखिमपूर्ण भू–भागमा करिब एक सातासम्म बेपत्ता भएर पनि जीवितै उद्धार हुनु पर्वतारोहण क्षेत्रका लागि असामान्य र चमत्कारपूर्ण घटनाका रूपमा लिइएको छ।