Breaking Nepal

मिक्लाजुङ / विश्व वातावरण दिवस २०२६ को अवसरमा हरित सामाजिक कार्य नेपालले आयोजना गरेको ‘चुलीपोखरी ट्रास म्याराथन’ तथा फोहोर सङ्कलन अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका–२ स्थित पर्यटकीय चुलीपोखरी पदमार्ग क्षेत्रमा आयोजित कार्यक्रममा ७७ जना सहभागीले हाइकिङ, वृक्षारोपण र सरसफाइ अभियानमार्फत वातावरण संरक्षणको सशक्त सन्देश दिएका छन् ।

खुडी, इलामबाट सुरु भएको म्याराथनमा सहभागीहरूले करिब ३.५ किलोमिटर लामो पहाडी पदमार्ग पार गर्दै चुलीपोखरी पुगेका थिए । गन्तव्यमा पुगेपछि उनीहरूले वृक्षारोपणसँगै पोखरी तथा आसपासका क्षेत्रको सरसफाइ गरेका थिए। फर्कने क्रममा पदमार्गमा जथाभावी फालिएका प्लास्टिक, क्यान, काँच तथा लत्ताकपडालगायतका मिश्रित फोहोर सङ्कलन गरिएको थियो ।
प्रतियोगितालाई व्यवस्थित बनाउन आयोजकले प्रत्येक सहभागीलाई कपडाबाट निर्मित पुनःप्रयोगयोग्य फोहोर सङ्कलन झोला उपलब्ध गराएको थियो । सहभागीहरूले सङ्कलन गरेको फोहोर अन्तिम चरणमा तौल गरिँदा कुल १०४.१७ केजी फोहोर सङ्कलन भएको आयोजकले जनाएको छ ।
फोहोर सङ्कलन प्रतियोगितातर्फ ६४ वर्षीय टेकमान राईले सबैभन्दा बढी २१.१६ केजी फोहोर सङ्कलन गर्दै प्रथम स्थान हासिल गरे। कवान चाम्लिङ राई ८.४२ केजीसहित द्वितीय तथा सिसम लिम्बु ७.७१ केजी फोहोर सङ्कलन गर्दै तृतीय बने । विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमलाई वातावरणमैत्री बनाउने उद्देश्यअनुसार आयोजकले नेपाली कागजबाट तयार गरिएका प्रमाणपत्र सबै सहभागीलाई वितरण गरेको थियो । सहभागीहरूका लागि टी–सर्ट, खाजा तथा खानेपानीको व्यवस्था समेत गरिएको थियो ।
अभियान सफल बनाउन मिक्लाजुङ गाउँपालिका, वडा नम्बर २ कार्यालय, कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन, वन तथा वातावरण मन्त्रालय, सूर्यज्योति लाइफ इन्स्योरेन्स, डिभिजन वन कार्यालय मोरङ, विराट नर्सिङ होम, सास्थम कलेज, श्री पिनाकी लक्ष्मी ज्वेलर्स, सांग्रिला फुटवेयर, काब्रा ग्रुप, लाइन्स क्लब अफ विराटनगर पाथिभरा, आवर विराटनगर तथा पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पसलगायत संस्थाले सहयोग तथा प्रायोजन गरेका थिए ।
आयोजकका अनुसार अभियानले वातावरण संरक्षण, फोहोर व्यवस्थापन र जनचेतना अभिवृद्धिमा सामूहिक सहभागिताको महत्त्वलाई उजागर गरेको छ । स्थानीय सरकार, प्रदेश सरकार, निजी क्षेत्र र युवाहरूबीचको सहकार्यबाट मात्र दिगो विकासका लक्ष्य हासिल गर्न सकिने सन्देश कार्यक्रमले प्रवाह गरेको छ ।
विश्व वातावरण दिवसको अवसरमा सञ्चालन गरिएको यो अभियानले चुलीपोखरी क्षेत्रको प्राकृतिक सौन्दर्य संरक्षणसँगै जिम्मेवार पर्यटन प्रवर्द्धन र समुदायमा वातावरणीय उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन् ।