पत्रकारितामा मर्यादा र व्यवसायिकता अभिवृद्धि गर्न विराटनगरमा तीन दिने तालिम सुरु

Breaking Nepal

शुक्रबार ,जेष्ठ २२ , २०८३ २१:३९

विराटनगर / पत्रकारितालाई मर्यादित, जिम्मेवार र व्यवसायिक बनाउने उद्देश्यसहित विराटनगरमा तीन दिने तालिम सुरु भएको छ । विराटनगर महानगरपालिका र नेपाल पत्रकार महासंघ कोशी प्रदेशको संयुक्त आयोजनामा सुरु भएको तालिममा पत्रकारिताको आचारसंहिता, तथ्यपरक समाचार लेखन, सम्पादकीय दक्षता तथा आधुनिक सञ्चार प्रविधिको प्रयोगसम्बन्धी व्यावहारिक सीप विकासमा जोड दिइएको छ ।

कार्यक्रमको उद्घाटनमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पत्रकारिता समाजको विश्वासमा आधारित क्षेत्र भएकाले सत्य, सन्तुलित र निष्पक्ष सूचनाको सम्प्रेषण अपरिहार्य रहेको बताए । उनले प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा पनि नयाँ सीप र डिजिटल दक्षता आवश्यक भएको उल्लेख गर्दै महानगरपालिकाले क्षमता विकासका कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पत्रकारिताको मूल आधार आचारसंहिता भएकाले यसको कडाइका साथ पालना गर्दै जिम्मेवार समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । महासंघका उपसभापति कुमोद अधिकारी, महासचिव हिमा चेम्जोङ तथा मोरङ शाखा अध्यक्ष सुशिला पाठकलगायतले पत्रकारले आफ्नो अधिकार प्रयोग गर्दा व्यक्तिको गोपनीयता, सामाजिक मर्यादा र तथ्यगत शुद्धतामा विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

तालिममा मोरङ, सुनसरी, झापा, धनकुटा र उदयपुरका गरी ३० जना पत्रकारको सहभागिता रहेको छ। सहभागीलाई समाचार लेखनको नयाँ शैली, खोजमूलक पत्रकारिता, डिजिटल मिडिया प्रयोग, स्रोत पुष्टि प्रक्रिया तथा प्रेस आचारसंहिताका व्यवहारिक पक्षमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार तालिमको उद्देश्य केवल सूचना लेखन क्षमता सुधार गर्नु मात्र नभई पत्रकारितालाई पेशागत अनुशासन, विश्वसनीयता र आधुनिक प्रविधिसँग जोड्दै गुणस्तरीय बनाउनु हो । हालको डिजिटल युगमा बढ्दो सूचना प्रवाहबीच तथ्य जाँच र जिम्मेवार सम्प्रेषण अझै महत्वपूर्ण बनेको सन्दर्भमा यस्तो तालिमले पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।