वैदेशिक रोजगार ठगीका ४० हजारभन्दा बढी मुद्दा डिजिटल अभिलेखमा, व्यवस्थापन कार्य तीव्र

Breaking Nepal

आइतबार ,जेष्ठ २४ , २०८३ १२:०८

काठमाडौं — वैदेशिक रोजगार ठगीसँग सम्बन्धित वर्षौंदेखि थन्किएका मुद्दाहरूलाई व्यवस्थित बनाउन वैदेशिक रोजगार विभागले डिजिटल अभिलेखीकरण अभियानलाई तीव्रता दिएको छ। विभागले २०६४ सालयताका ४० हजारभन्दा बढी मुद्दालाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने कार्य अघि बढाएको जनाएको छ।

विभागका अनुसार लामो समयदेखि कागजी फाइलमा सीमित रहेका मुद्दाहरूलाई खोजी, वर्गीकरण, व्यवस्थापन तथा डिजिटल प्रणालीमा सुरक्षित राख्ने काम भइरहेको छ। हालसम्म १० हजारभन्दा बढी मुद्दाका फाइल स्क्यान गरी आवश्यक विवरण प्रणालीमा प्रविष्ट गरिसकिएको छ भने बाँकी फाइलहरूको अभिलेखीकरण जारी छ।

विभागका प्रवक्ता तथा सूचना अधिकारी बिन्दा आचार्यका अनुसार डिजिटल प्रणालीमा अभिलेख राखिएपछि अनुसन्धान तथा कानुनी प्रक्रिया थप प्रभावकारी बन्नेछ। साथै, मुद्दाहरू समयमै अदालतमा पेश गर्न र आवश्यक विवरण सहज रूपमा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गत वर्ष भएको आन्दोलनका क्रममा विभागमा भएको तोडफोड तथा आगजनीबाट पुराना मुद्दाका डिजिटल अभिलेख सुरक्षित राखिएको उपकरण नष्ट भएको थियो। त्यसपछि विभागले पुनः फाइलहरू स्क्यान गरी अभिलेख पुनर्निर्माण गर्ने प्रक्रिया सुरु गरेको हो।

विभागले आगामी छ महिनाभित्र पुराना मुद्दाहरूको डिजिटल व्यवस्थापन सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसका लागि छुट्टै जनशक्ति परिचालन गरिएको जनाइएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रमा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न पुराना मुद्दाहरूको छिटो टुंगो लगाउने तथा पीडितलाई न्याय दिलाउने प्रयासलाई प्राथमिकतामा राखेको जनाएको छ।