Breaking Nepal

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टी सहभागी नभएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले पूर्वनिर्धारित कार्यक्रमका कारण बैठकमा उपस्थित हुन नसकिएको बताएका छन्।
साम्पाङका अनुसार बैठकमा सहभागी हुने विषयमा पार्टीले कुनै प्रतिनिधिसमेत पठाएको छैन। “हामी सर्वदलीय बैठकमा गएनौं। अर्को कार्यक्रम भएकाले समय मिलेन,” उनले प्रतिक्रिया दिएका छन्।
लामिछानेले भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएलगत्तै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग संवाद र परामर्शलाई निरन्तरता दिने उद्देश्यले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा विभिन्न दलका सभापति तथा अध्यक्षहरूलाई निमन्त्रणा गरिएको थियो।
तर, श्रम संस्कृति पार्टीको तर्फबाट कुनै प्रतिनिधित्व नभएपछि उक्त बैठकमा पार्टीको अनुपस्थिति चर्चाको विषय बनेको छ।
राजनीतिक संवाद र समसामयिक राष्ट्रिय मुद्दामा सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यसहित बोलाइएको बैठकमा अधिकांश दलका नेताहरू सहभागी भएको बताइएको छ। रास्वपाले पछिल्लो समय विभिन्न राजनीतिक शक्तिबीच संवाद विस्तार गर्ने प्रयासलाई प्राथमिकतामा राख्दै आएको छ।
लामिछानेको भारत भ्रमणपछि आयोजित यो बैठकलाई आगामी राजनीतिक एजेन्डा, अन्तरदलीय सम्बन्ध तथा समसामयिक राष्ट्रिय विषयमा धारणा आदानप्रदान गर्ने अवसरका रूपमा हेरिएको छ।