Breaking Nepal

विराटनगर / विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयले लामो समय विद्यालयको नेतृत्व सम्हाल्दै संस्थागत विकासमा योगदान पुर्याएका प्रधानाध्यापक विष्णुकान्त झाको सम्मानपूर्ण बिदाइ गरेको छ । विद्यालय परिसरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा अभिभावक भेला, सम्मान तथा नेतृत्व हस्तान्तरण कार्यक्रम एकैसाथ सम्पन्न गरिएको हो ।
शिक्षण सेवामा ३५ वर्षको योगदानपछि अवकाश प्राप्त गरेका झालाई विद्यालय परिवार, स्थानीय जनप्रतिनिधि तथा शिक्षा क्षेत्रका सरोकारवालाले दोसल्ला ओढाएर सम्मानपत्रसहित बिदाइ गरेका थिए । विद्यालयको भौतिक पूर्वाधार विस्तार, शैक्षिक गुणस्तर अभिवृद्धि तथा व्यवस्थापन सुधारमा झाले खेलेको भूमिकाको कार्यक्रममा उच्च प्रशंसा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले झाको कार्यकालमा विद्यालयले उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्दै उनको योगदान विद्यालयको इतिहासमा सधैं स्मरणीय रहने बताए । उनले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउने अभियानमा महेन्द्र माविले उदाहरणीय काम गरेको धारणा व्यक्त गरे ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुंगेलले अवकाशप्राप्त प्रधानाध्यापक झाको समर्पण र नेतृत्वको प्रशंसा गर्दै आगामी नेतृत्वले त्यसलाई अझ उचाइमा पुर्याउनुपर्ने आवश्यकता औंल्याए । “विद्यालयको विकास निरन्तर प्रक्रिया हो, अब आउने नेतृत्वले थप नवप्रवर्तन र नतिजामुखी काम गर्नुपर्छ,” उनले भने ।
वडा नम्बर ८ का अध्यक्ष राम पोखरेलले महेन्द्र माविलाई वडा मात्र नभई विराटनगरकै नमुना सामुदायिक विद्यालयका रूपमा स्थापित गर्ने लक्ष्यसहित काम गर्न नवनियुक्त नेतृत्व र शिक्षकहरूलाई आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र राय अमातले विद्यालयको समग्र विकासमा झाले पुर्याएको योगदानलाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि उनको अनुभव र मार्गदर्शन आवश्यक रहने बताए ।
झाको अवकाशसँगै विद्यालयको नयाँ प्रधानाध्यापकका रूपमा कामेश्वर मण्डल नियुक्त भएका छन् । कार्यक्रममा मण्डललाई औपचारिक रूपमा स्वागत गर्दै विद्यालयको शैक्षिक सुधार, प्रविधिमैत्री शिक्षण पद्धति र विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने जिम्मेवारी सुम्पिएको थियो ।
यसै अवसरमा आयोजित अभिभावक भेलामा विद्यालय र अभिभावकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । वक्ताहरूले विद्यार्थीको शैक्षिक उपलब्धि, अनुशासन र व्यक्तित्व विकासमा अभिभावकको भूमिका निर्णायक रहने उल्लेख गर्दै घर र विद्यालयबीचको निरन्तर समन्वय आवश्यक रहेको बताएका थिए ।
सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित महेन्द्र माविले नयाँ नेतृत्वमा थप उपलब्धि हासिल गर्ने अपेक्षा सहभागीहरूले व्यक्त गरेका छन् । विद्यालयको विकास यात्रामा एक सफल अध्यायको समापन र नयाँ अध्यायको सुरुवातका रूपमा कार्यक्रमलाई हेरिएको थियो ।