कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी पानी पर्ने

Breaking Nepal

शनिबार ,जेष्ठ ३० , २०८३ ०७:५८

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा बदली तथा वर्षाको अवस्था देखिएको छ।

महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बदली रहनेछ। मधेश प्रदेशसहित अन्य क्षेत्रका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने तथा तराईका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। मेघगर्जन, चट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन मौसमविद्को सुझाव छ।