बाँदर धपाउन राखिएको भरुवा बन्दुकले लियो ज्यान

Breaking Nepal

शनिबार ,जेष्ठ ३० , २०८३ १२:५२

धनकुटा / धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा भएको दुर्घटनामा एक स्थानीय बासिन्दाको मृत्यु भएको छ।

मृतक ४७ वर्षीय रामकृष्ण थापा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। शुक्रबार घरमै राखिएको भरुवा बन्दुक सफा गर्ने क्रममा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा निधन भएको हो।

प्रहरीका अनुसार बन्दुकको नालभित्र बारुद रहेको अवस्थामा थापाले नाल आगोमा तताएर सफा गर्न खोजेका थिए। त्यसपछि मुखले फुकेर नाल सफा गर्ने प्रयास गर्दा बन्दुक अचानक पड्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विस्फोटबाट उनी गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले शुक्रबार राति मृत घोषणा गरेका थिए।

प्रहरीले घटनास्थलबाट एकनाले भरुवा बन्दुक नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उक्त बन्दुक घर वरपर आउने बाँदर धपाउनका लागि राखिएको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ।

प्रहरी निरीक्षक पाण्डव राजवंशीको नेतृत्वमा खटिएको टोलीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। अवैध तथा पुराना हतियारको असावधानीपूर्ण प्रयोगले ज्यानै जाने जोखिम बढिरहेको सन्दर्भमा यो घटनाले हतियार व्यवस्थापन र सुरक्षाप्रति थप सतर्कता आवश्यक रहेको संकेत गरेको छ।