सिलीगुडी संवादमा मोरङ व्यापार संघको सन्देश : ‘लगानी र व्यापारका अवरोध हटाऔं, साझेदारी विस्तार गरौं’

Breaking Nepal

आइतबार ,जेष्ठ ३१ , २०८३ ०७:४२

विराटनगर / नेपाल–भारत आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित भारतको सिलीगुडीमा आयोजित ‘सिलीगुडी डायलग २०२६’ मा मोरङ उद्योग व्यापार संघले सक्रिय सहभागिता जनाउँदै सीमापार व्यापार सहजीकरण, लगानी प्रवर्द्धन र निजी क्षेत्रबीचको सहकार्य विस्तारमा जोड दिएको छ ।

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई) र एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) को संयुक्त आयोजनामा जेठ ३० र ३१ गते सम्पन्न दुईदिने संवाद कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहको नेतृत्वमा कार्यकारिणी सदस्य विनीत सिंघानिया तथा उद्योगी ऋषभ सोमानी र केतन साह सहभागी भएका थिए ।

‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ विषयक कार्यक्रममा दुई देशका नीति–निर्माता, उद्योगी, लगानीकर्ता र विषय विज्ञहरूले पर्यटन, नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा, शिक्षा, उद्यमशीलता तथा शैक्षिक सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए।

संवादका क्रममा वरिष्ठ उपाध्यक्ष साहले नेपाल र भारतबीचको ऐतिहासिक आर्थिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन निजी क्षेत्रको भूमिका निर्णायक हुने बताए । उनले पर्यटन, नवीकरणीय ऊर्जा र स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारका पर्याप्त अवसर रहेको उल्लेख गर्दै ती क्षेत्रका सम्भावनालाई व्यवहारमा उतार्न दुवै देशले नीतिगत तथा संस्थागत सहकार्य बढाउनुपर्ने धारणा राखे ।

साहले नेपालमा पछिल्लो समय लगानीमैत्री वातावरण क्रमशः सुधार हुँदै गएको भन्दै भारतीय लगानीकर्ताका लागि औद्योगिक, शैक्षिक तथा पूर्वाधार विकासका क्षेत्र आकर्षक गन्तव्य बन्न सक्ने बताए । उनका अनुसार सीमापार व्यापारमा देखिएका व्यावहारिक समस्या समाधान गर्न व्यापार सहजीकरण, नीतिगत स्थायित्व र निजी क्षेत्रबीचको नियमित संवाद अपरिहार्य छ ।

उनले नेपाल, भुटान र बंगलादेशसँग जोडिने रणनीतिक महत्वको सिलीगुडी करिडोरलाई क्षेत्रीय आर्थिक सहकार्यको केन्द्रका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै ‘सिलीगुडी डायलग २०२६’ ले आपसी विश्वास अभिवृद्धि र दीर्घकालीन आर्थिक सहकार्यका लागि प्रभावकारी मञ्चको भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको उद्घाटन सत्रमा एआईडीआईएका संस्थापक तथा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनील केसी, सीआईआई उत्तर बंगाल जोनल काउन्सिलका अध्यक्ष सतिश मित्रुका लगायतले नेपाल–भारत आर्थिक साझेदारीका सम्भावना र चुनौतीबारे धारणा राखेका थिए ।

संवादमा पर्यटन, स्वास्थ्य, शिक्षा र उद्यमशीलतासम्बन्धी विषयमा विभिन्न क्षेत्रका विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालको प्रतिनिधिसभाका सांसद परशमणि गेलालले समापन मन्तव्य दिएका थिए ।

आयोजकका अनुसार नेपाल–भारत आर्थिक सहकार्यलाई व्यावहारिक रूपमा विस्तार गर्ने, सीमापार लगानी आकर्षित गर्ने तथा निजी क्षेत्रबीचको साझेदारीलाई संस्थागत बनाउने उद्देश्यले सिलीगुडी संवाद आयोजना गरिएको हो ।