Breaking Nepal

काठमाडौं / वाणिज्य बैंकहरूले असार महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिएका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर औसतमा थप घटेको छ।
असारका लागि निर्धारण गरिएको ब्याजदरअनुसार २० वाणिज्य बैंकमध्ये ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १३ बैंकले अघिल्लो महिनाकै दर कायम राखेका छन्। यद्यपि केही बैंकले ब्याजदर कटौती गरेकाले समग्र औसत दरमा गिरावट आएको हो।
जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गरिएको अधिकतम ब्याजदर औसत ४.३४३ प्रतिशत रहेकोमा असारमा घटेर ४.२६५ प्रतिशतमा सीमित भएको छ। यसले औसत ब्याजदर ०.०७७५ प्रतिशत बिन्दुले घटेको देखाएको छ।
बैंकहरूको निक्षेप ब्याजदर अहिले मुलुकको मूल्यवृद्धि दरभन्दा समेत तल झरेको छ। वैशाख महिनाको वार्षिक औसत मुद्रास्फीति ५.०४ प्रतिशत रहेको अवस्थामा कुनै पनि वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.७५ प्रतिशतभन्दा बढी ब्याज प्रस्ताव गरेका छैनन्। अधिकांश बैंकको अधिकतम ब्याजदर ३.९ प्रतिशतदेखि ४.५ प्रतिशतको हाराहारीमा रहेको छ।
जेठको तुलनामा असारमा ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक र एनएमबी बैंक रहेका छन्।
बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहनु र कर्जा विस्तार अपेक्षित रूपमा बढ्न नसक्नु ब्याजदर घट्नुको मुख्य कारण मानिएको छ। पर्याप्त निक्षेप संकलन भइरहेका बेला कर्जाको माग कमजोर बनेकाले बैंकहरूलाई निक्षेपको लागत घटाउन दबाब परेको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन्।
बजारमा लगानी विस्तार सुस्त रहँदा आगामी महिनाहरूमा पनि निक्षेप ब्याजदरमा उल्लेख्य सुधारको सम्भावना न्यून देखिएको छ। ब्याजदर निरन्तर घट्दै जाँदा बचतकर्ताको वास्तविक प्रतिफल भने मूल्यवृद्धिको तुलनामा अझ कमजोर बन्दै गएको छ।