Breaking Nepal

लन्डन / बेलायत सरकारले १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा प्रतिबन्ध लगाउने तयारी अघि बढाएको छ। प्रधानमन्त्री केयर स्टार्मरले आगामी क्रिसमसभित्र सम्बन्धित कानुन पारित गरी सन् २०२७ देखि कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको बताएका छन्।
प्रधानमन्त्री स्टार्मरका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्य, सामाजिक व्यवहार तथा समग्र विकासमा नकारात्मक प्रभाव पारिरहेको छ। अनलाइन दुर्व्यवहार, लत लाग्ने खालका डिजिटल प्लेटफर्मको संरचना तथा बालबालिकाको घट्दो सामाजिक सक्रियतालाई मध्यनजर गर्दै यस्तो कदम चाल्न लागिएको उनले बताएका छन्।
उनले सामाजिक सञ्जालमाथिको प्रतिबन्धले बालबालिकालाई थप सुरक्षित वातावरण, परिवारसँग बढी समय बिताउने अवसर तथा स्वतन्त्र रूपमा हुर्कने आधार प्रदान गर्ने विश्वास व्यक्त गरे।
“हरेक अभिभावक आफ्ना छोराछोरीको उज्ज्वल भविष्य चाहन्छन्। उनीहरूले समान र न्यायपूर्ण अवसरसहित सुरक्षित वातावरणमा आफ्ना बालबालिका हुर्कून् भन्ने अपेक्षा राखेका हुन्छन्,” स्टार्मरको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ।
सरकारले बालबालिकाको सुरक्षा र मानसिक स्वास्थ्यको विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट संकेत दिएको छ। बेलायतको यो पहल अस्ट्रेलियाले अपनाएको नीतिबाट प्रभावित भएको बताइएको छ। अस्ट्रेलियाले यसअघि नै १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा ल्याइसकेको छ।
नयाँ व्यवस्था लागू भएपछि स्न्यापच्याट, टिकटक, युट्युब, इन्स्टाग्राम, फेसबुक तथा एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जाल प्लेटफर्म १६ वर्षमुनिका बालबालिकाका लागि निषेध हुनेछन्। यद्यपि सञ्चार तथा सन्देश आदानप्रदानका लागि प्रयोग हुने ह्वाट्सएप र सिग्नलजस्ता मेसेजिङ एपलाई भने प्रतिबन्धको दायराबाहिर राखिने जनाइएको छ।
विशेषज्ञहरूले बालबालिकाको डिजिटल सुरक्षा, मानसिक स्वास्थ्य तथा अनलाइन वातावरणलाई व्यवस्थित बनाउन विकसित राष्ट्रहरूले कडा नियामकीय नीति अवलम्बन गर्न थालेको सन्दर्भमा बेलायतको कदमलाई महत्वपूर्ण मानिरहेका छन्।