सुनमा फेरि उकालो, प्रतितोला मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँ पुग्यो

Breaking Nepal

मंगलबार ,असार २ , २०८३ ११:३१

काठमाडौं / नेपाली बजारमा सुनको मूल्य मंगलबार सामान्य वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने ओरालो लागेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँमा कायम भएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार १५ रुपैयाँमा किनबेच भएको थियो।

पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परिरहेको व्यवसायीहरू बताउँछन्।