Breaking Nepal

काठमाडौं / होटल खरिद–बिक्रीसँग सम्बन्धित आर्थिक विवादका कारण पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्। बैंकिङ कसुर तथा ठगीसम्बन्धी उजुरीका आधारमा नियन्त्रणमा लिइएका साहलाई अनुसन्धानको प्रारम्भिक प्रक्रिया पूरा भएपछि सोमबार रिहा गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार साहलाई साधारण तारेखमा छाडिएको छ। उनलाई गत शनिबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।
प्रहरीका अनुसार सकुन्तला अधिकारी (थापा) ले साहविरुद्ध उजुरी दिएकी थिइन्। उजुरीमा होटल खरिद गर्ने सहमति गरेपछि रकम भुक्तानी नगरी आर्थिक ठगी गरेको आरोप लगाइएको छ। सोही आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसबीच साहविरुद्ध यसअघि बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरिसकेको छ। अदालतले गत ३० जेठ २०८२ मा २५ लाख रुपैयाँ बिगो, १ लाख २५ हजार रुपैयाँ जरिवाना तथा एक महिनाको कैद सजाय सुनाएको थियो।
यद्यपि उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने कानुनी अवधि बाँकी रहेकाले तत्काल सजाय कार्यान्वयनको अवस्था नरहेको प्रहरीको भनाइ छ। यही कारण उनलाई साधारण तारेखमा रिहा गरिएको बताइएको छ।
प्रहरीले ठगीसम्बन्धी उजुरीमा थप अनुसन्धान जारी रहेको जनाएको छ।