धनकुटामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, डायलाइसिस वार्डका कर्मचारी गम्भीर घाइते

Breaking Nepal

मंगलबार ,असार २ , २०८३ ११:३९

धनकुटा / धनकुटामा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

धनकुटा नगरपालिका–४ स्थित स्कुलडाँडा नजिक धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट धनकुटा जिल्ला अस्पतालतर्फ आउँदै गरेको को २५ प १७७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा को १२ प ८०९८ नम्बरको मोटरसाइकल चालक सुनसरीको झुम्का स्थायी घर भई पछिल्लो केही वर्षदेखि धनकुटामा बसोबास गर्दै फर्निचर तथा मिस्त्री व्यवसाय सञ्चालन गरिरहेका ५५ वर्षीय विशाल चौधरी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटा पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

त्यसैगरी, अर्को मोटरसाइकल चालक धनकुटा नगरपालिका–१, हिलेका २८ वर्षीय श्याम तामाङ घाइते भएका छन्। तामाङ जिल्ला अस्पताल धनकुटाको डायलाइसिस वार्डमा कार्यरत कर्मचारी रहेको खुलेको छ। उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै घटनास्थल नजिक शारीरिक प्रशिक्षण (पीटी) गरिरहेको नेपाली सेनाको भिमदल गणको टोलीले उद्धार कार्यमा सक्रियता देखाउँदै दुवै घाइतेलाई तत्काल अस्पताल पुर्‍याएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न दुवै मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।