महाधिवेशन तयारी तीव्र, रास्वपाको राजनीतिक दस्तावेज लेखनको जिम्मा गणेश कार्कीलाई

Breaking Nepal

बुधबार ,असार ३ , २०८३ १२:४४

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै राजनीतिक प्रतिवेदन लेखन उपसमितिको संयोजकमा गणेश कार्कीलाई जिम्मेवारी दिएको छ ।

पार्टीले गठन गरेको महाधिवेशन मूल आयोजक समितिअन्तर्गत कार्की नेतृत्वको उपसमितिले राजनीतिक प्रतिवेदन, पार्टीको वैचारिक दस्तावेज तथा सभापति रवि लामिछानेले प्रस्तुत गर्ने राजनीतिक प्रस्तावको मस्यौदा तथा समन्वयको काम गर्नेछ । कार्कीले उपसमितिले महाधिवेशनमा प्रस्तुत हुने प्रमुख राजनीतिक दस्तावेजहरूको तयारी र समन्वयको जिम्मेवारी निर्वाह गर्ने जानकारी दिए ।

रास्वपाले सभापति लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरी अधिवेशन तयारीलाई तीव्र बनाएको छ । पार्टीले विभिन्न जिम्मेवारी विभाजन गर्दै नेताहरूको नेतृत्वमा उपसमितिहरू समेत गठन गरेको छ ।

चितवनमा असार ७ देखि ९ गतेसम्म आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि पार्टीले १८ वटा विषयगत उपसमिति गठन गरेको जनाएको छ । ती उपसमितिमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन, गुनासो व्यवस्थापन, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा, आर्थिक व्यवस्थापन, महाधिवेशन प्रतिनिधि व्यवस्थापन, कानुनी समन्वय, प्रचारप्रसार तथा सञ्चार समन्वय, सुरक्षा तथा स्वयंसेवक परिचालन, सूचना प्रविधि, आवास तथा भोजन व्यवस्थापन, अतिथि सत्कार, हल तथा मञ्च व्यवस्थापन, स्वास्थ्य सेवा, सांस्कृतिक कार्यक्रम, यातायात व्यवस्थापन, स्थानीय समन्वय तथा सहकार्य, अभिलेखीकरण तथा दस्तावेजीकरण तथा अनुशासन व्यवस्थापनलगायत रहेका छन् ।

पार्टीले महाधिवेशनलाई संगठनात्मक पुनर्संरचना, वैचारिक स्पष्टता र आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिँदै तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।