Breaking Nepal

काठमाडौं / लामो समयदेखि तनावपूर्ण बनेको अमेरिका–इरान सम्बन्धमा महत्वपूर्ण मोड आएको छ । दुवै देशले युद्ध अन्त्य तथा आर्थिक पुनर्स्थापनालाई केन्द्रमा राख्दै अन्तरिम शान्ति समझदारी सार्वजनिक गरेका छन्, जसले मध्यपूर्वको सुरक्षा अवस्था मात्र होइन, विश्व ऊर्जा बजारमा समेत सकारात्मक संकेत दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियानले समझदारीपत्र ९एमओयू० मा डिजिटल हस्ताक्षर गरिसकेको दाबी गरिएको छ भने इरानले बुधबारदेखि नै सम्झौता कार्यान्वयनमा आएको जनाएको छ। औपचारिक हस्ताक्षर भने शुक्रबार स्वीट्जरल्याण्डमा हुने तय गरिएको छ।
सम्झौताअनुसार लेबनानसहितका सबै मोर्चामा तत्काल युद्ध अन्त्य गरिने, हर्मुज जलडमरूमध्यमा समुद्री यातायात पूर्ण रूपमा सञ्चालन गरिने तथा इरानी बन्दरगाहमाथि लगाइएका अमेरिकी नाकाबन्दी हटाइनेछ। साथै, अमेरिकाले इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध क्रमशः फुकुवा गर्दै रोक्का गरिएका सम्पत्तिमा पहुँच खुला गर्ने प्रतिबद्धता जनाएको छ।
दुवै पक्षले इरानको आर्थिक पुनरुत्थानका लागि ३०० अर्ब अमेरिकी डलर बराबरको पुनर्निर्माण तथा लगानी कार्यक्रम अघि बढाउने समझदारी गरेका छन्। त्यस्तै, इरानले परमाणु हतियार विकास नगर्ने आफ्नो पुरानो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
युद्धविराम थप ६० दिन लम्बियो
सम्झौताले गत अप्रिलमा घोषणा गरिएको युद्धविरामलाई थप ६० दिनका लागि विस्तार गरेको छ। यो अवधिमा स्थायी शान्ति सम्झौताका लागि विस्तृत वार्ता अघि बढाइने जनाइएको छ।
फ्रान्समा जारी जी–७ शिखर सम्मेलनमा सहभागी विश्व नेताहरूले सम्झौताको स्वागत गरेका छन्। यद्यपि, अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले स्थायी तथा कानुनी रूपमा बाध्यकारी सम्झौता नबन्दासम्म जोखिम कायम रहने बताएका छन्।
ट्रम्पको चेतावनी स् प्रतिबद्धता उल्लंघन भए पुनः सैन्य कारबाही
सम्झौतासँगै अमेरिकी राष्ट्रपति ट्रम्पले इरानप्रति कडा सन्देश पनि दिएका छन्। जी–७ सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले इरानले सहमति उल्लंघन गरे पुनः सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्।
उनले आगामी ६० दिनभित्र स्थायी शान्ति सम्झौता टुंग्याउने दिशामा वार्ताकारहरू सक्रिय रहेको उल्लेख गर्दै इरानले सम्झौताको सम्मान गर्ने अपेक्षा व्यक्त गरे।
ट्रम्पको अडानमा परिवर्तन
युद्ध सुरु हुँदा इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम समाप्त गर्ने कडा अडान लिएका ट्रम्प पछिल्लो समय केही नरम देखिएका छन्। इरानसँग कुनै पनि प्रकारको ब्यालिस्टिक मिसाइल हुन नहुने धारणा व्यवहारिक नहुने संकेत उनले दिएका छन्।
विश्लेषकहरूका अनुसार युद्ध सुरु हुँदा अमेरिकी प्रशासनले अघि सारेका केही प्रमुख उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन सकेका छैनन्। इरानको राजनीतिक संरचना यथावत् रहेको, उच्च संवर्धित युरेनियम भण्डार सुरक्षित रहेको तथा मिसाइल क्षमता पनि कायम रहेको बताइन्छ। साथै, इरानले क्षेत्रीय सहयोगी समूहहरूलाई गर्दै आएको समर्थनमा पनि तत्काल कुनै ठोस परिवर्तन देखिएको छैन।
ऊर्जा बजारमा तत्काल प्रभाव
सम्झौताको सबैभन्दा प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिएको छ। हर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालन हुने संकेतसँगै कच्चा तेलको आपूर्ति सहज हुने अपेक्षा बढेको छ।
यसका कारण अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल ८० डलरभन्दा तल झरेको छ, जुन युद्ध सुरु भएयताकै न्यून स्तर मानिएको छ। यद्यपि, ट्रम्पको पुनः आक्रमणसम्बन्धी चेतावनीपछि तेल बजारमा केही अस्थिरता देखिएको छ र मूल्यमा सामान्य वृद्धि भएको छ।
अर्थशास्त्रीहरूका अनुसार अमेरिका–इरान तनाव कम हुनु विश्व अर्थतन्त्रका लागि सकारात्मक संकेत हो। विशेषगरी ऊर्जा आयातमा निर्भर विकासोन्मुख मुलुकहरूका लागि तेल मूल्य स्थिर हुनु मुद्रास्फीति नियन्त्रण र आर्थिक पुनरुत्थानमा सहयोगी बन्न सक्छ।