कक्षा १२ परीक्षामा विकेभिएमको उत्कृष्ट नतिजा, तीन विद्यार्थीले ल्याए ३.९४ जीपीए

Breaking Nepal

शुक्रबार ,असार ५ , २०८३ १४:२१

विराटनगर / राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम)ले उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका तीन विद्यार्थीले ३.९४ जीपीए प्राप्त गर्दै संस्थाको शैक्षिक उत्कृष्टतालाई थप उचाइ दिएका छन् ।

विद्यालयका अनुसार यस वर्ष कक्षा १२ को परीक्षामा सहभागी ३ सय ३७ विद्यार्थिमध्ये व्यवस्थापन संकायकी सायना भट्टराई, बायो साइन्सका सौगात पोखरेल र कम्प्युटर साइन्सका शिवानन्द यादवले ३.९४ जीपीए प्राप्त गरेका हुन् ।

विद्यालयका प्रिन्सिपल रविनकुमार दाहालले विद्यार्थीको निरन्तर मेहनत, अनुशासित अध्ययन संस्कृति तथा विद्यालयले सिर्जना गरेको गुणस्तरीय शैक्षिक वातावरणका कारण उल्लेखनीय नतिजा हासिल गर्न सम्भव भएको बताए । उनले पछिल्ला वर्षहरूमा विद्यालयले शैक्षिक उपलब्धिलाई निरन्तरता दिँदै आएको उल्लेख गरे ।

सार्वजनिक नतिजाअनुसार विकेभिएमका ९४ विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेका छन्। त्यस्तै १६५ विद्यार्थीले ए र ६३ विद्यार्थीले बी प्लस ग्रेड हासिल गरेका छन् । अधिकांश विद्यार्थीले उच्च ग्रेड प्राप्त गरेसँगै विद्यालय प्रदेशकै उत्कृष्ट नतिजा दिने शिक्षण संस्थामध्ये एकका रूपमा स्थापित भएको विद्यालयको दाबी छ ।

विकेभिएमले अघिल्लो शैक्षिक वर्षको नतिजामा समेत उल्लेखनीय सफलता हासिल गरेको थियो। २०८१ सालको कक्षा १२ परीक्षामा विद्यालयका विद्यार्थी सृजन घिमिरेले ३.९६ जीपीए प्राप्त गर्दै राष्ट्रिय स्तरमै प्रथम स्थान हासिल गरेका थिए ।

लगातार उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै आएको विकेभिएमले यस वर्षको नतिजामार्फत गुणस्तरीय शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता पुनः प्रमाणित गरेको छ ।