आगामी मंसिर २६–२८ मा केन्द्रीय महाधिवेशन गर्ने राप्रपाको निर्णय, संगठन सुदृढीकरण अभियान तीव्र बनाइने

Breaking Nepal

शनिबार ,असार ६ , २०८३ १८:११

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबार र शनिबार बसेको बैठकले महाधिवेशनको मिति तय गर्दै तयारीलाई औपचारिक रूपमा अघि बढाएको हो।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न आफ्नै संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको जानकारी दिए। समितिमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार समिति, विभागीय प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, संघीय तथा प्रदेश सांसद र भ्रातृ संगठनका अध्यक्षहरू सहभागी रहनेछन्।

महाधिवेशन व्यवस्थापनका लागि आवश्यक उपसमितिहरू गठन गर्ने अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई प्रदान गरिएको छ।

बैठकले केन्द्रीय निर्वाचन समितिबाट प्रस्तुत सक्रिय सदस्यता वितरण निर्देशिका, संगठनात्मक तहको निर्वाचनसम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिकालाई आवश्यक संशोधनसहित अनुमोदन गरेको छ। स्वीकृत कार्यतालिकाअनुसार आगामी भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ भने सक्रिय सदस्यता वितरण अभियान पनि सोही अवधिसम्म सञ्चालन गरिनेछ।

राप्रपाले सक्रिय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ। भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेका सदस्यहरू मात्रै महाधिवेशन प्रतिनिधिको मतदाता तथा उम्मेदवार बन्न पाउनेछन्। साथै, निर्धारित समयभित्र जिल्ला अधिवेशन सम्पन्न गरेका जिल्लाहरू मात्र केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुने व्यवस्था गरिएको छ।

पार्टीले असोज १५ देखि २४ गतेभित्र सातवटै प्रदेशका प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ। त्यसपछि कात्तिक ११ देखि ३० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रीय निर्वाचन समितिहरूले सक्रिय सदस्यहरूमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्।

चयन भएका प्रतिनिधिहरूको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति तथा पार्टी केन्द्रीय सचिवालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। प्रतिनिधि छनोट प्रक्रियामा युवाको सहभागिता सुनिश्चित गर्ने विशेष प्रावधानसमेत समावेश गरिएको राप्रपाले जनाएको छ।

आगामी महाधिवेशनलाई लक्षित गर्दै संगठन विस्तार, सदस्यता वृद्धि र आन्तरिक निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउने रणनीतिसहित राप्रपाले देशव्यापी संगठनात्मक अभियानलाई तीव्रता दिने संकेत गरेको छ।