पठन संस्कृतिको प्रवर्द्धनमा विराटनगर जेसीजको पहल, त्रिवेणी वाचनालयलाई २०० भन्दा बढी पुस्तक सहयोग

Breaking Nepal

शनिबार ,असार ६ , २०८३ १८:३६

विराटनगर / समुदायमा पठन संस्कृतिको विकास, ज्ञानको पहुँच विस्तार तथा पुस्तकालय सशक्तीकरणलाई लक्षित गर्दै विराटनगर जेसीजले त्रिवेणी वाचनालयलाई २०० भन्दा बढी पुस्तक हस्तान्तरण गरेको छ ।

‘ज्ञानको उपहार’ अभियानअन्तर्गत विराटनगर महानगरपालिका–१ स्थित त्रिवेणी वाचनालयलाई साहित्य, इतिहास, जीवनी, व्यक्तित्व विकास, बालसाहित्य तथा अन्य विविध विधाका पुस्तकहरू उपलब्ध गराइएको हो। विभिन्न स्रष्टा तथा लेखकका कृतिहरू संकलन गरी पुस्तकालयलाई हस्तान्तरण गरिएको विराटनगर जेसीजले जनाएको छ ।

पुस्तक हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि वडा नं. १ का अध्यक्ष काजीबहादुर बस्नेतले पुस्तक दान केवल सामग्री हस्तान्तरण नभई समाजमा ज्ञान, चेतना र सकारात्मक सोच विस्तार गर्ने महत्वपूर्ण अभियान भएको बताए। उनले यस्ता कार्यक्रमले अध्ययन संस्कृतिलाई बलियो बनाउँदै सामाजिक रूपान्तरणमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

त्रिवेणी वाचनालयका अध्यक्ष तेजराज गिरीले पुस्तकालयको स्रोत अभिवृद्धिका लागि गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै यसले स्थानीय पाठकलाई थप अध्ययन सामग्री उपलब्ध गराउन मद्दत पुग्ने बताए। उनले समुदायमा पुस्तकालयप्रतिको आकर्षण बढाउन यस्ता सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले आफू स्थानीय समुदायसँग प्रत्यक्ष जोडिएको व्यक्ति भएकाले वाचनालयसँगको सहकार्य दीर्घकालीन रूपमा अघि बढाइने बताए । पुस्तकालयको विकास, पठन संस्कृतिको प्रवर्द्धन र समुदायको बौद्धिक उन्नयनका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रममार्फत सहयोग जारी रहने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा वाचनालय व्यवस्थापन समितिका सदस्य, विराटनगर जेसीजका पूर्वअध्यक्ष, बोर्ड पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

विराटनगर जेसीजकी जनसम्पर्क अधिकारी आकृति रानी फुयालका अनुसार अध्ययन, अनुसन्धान र ज्ञान आदान–प्रदानको वातावरण सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानले पुस्तकालयको स्रोतसम्पन्नता बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ । उनले शिक्षा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित रचनात्मक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिइन् ।

ज्ञान र शिक्षामार्फत समाज रूपान्तरणको लक्ष्य बोकेको यस पहलले स्थानीय तहमा पठन संस्कृतिको विकास, पुस्तकालयको क्षमता अभिवृद्धि तथा ज्ञानमूलक वातावरण निर्माणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।