इलेक्ट्रोनिक उपहारको लोभ देखाएर रकम संकलन, विराटनगरमा अवैध चिठ्ठा कारोबार गर्ने व्यक्ति पक्राउ

Breaking Nepal

शनिबार ,असार ६ , २०८३ १९:५१

विराटनगर / आकर्षक इलेक्ट्रोनिक सामान उपहार पर्ने प्रलोभनमा सर्वसाधारणबाट रकम असुल्दै अवैध चिठ्ठा सञ्चालन गरेको आरोपमा विराटनगरबाट एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले विराटनगर महानगरपालिका–११ महेन्द्र चोकका ३५ वर्षीय सुवास राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई अवैध रूपमा चिठ्ठा कारोबार सञ्चालन गरिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार राईले ‘ओसियन डिजिटल सोलुसन प्रालि’को नाम प्रयोग गरी विभिन्न विद्युतीय सामग्री पुरस्कारका रूपमा प्राप्त हुने प्रचार गर्दै सर्वसाधारणबाट रकम संकलन गर्ने गरेका थिए । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आषाढ ५ गते दिउँसो उनको गतिविधिमाथि निगरानी गर्दै छापा मारेपछि चिठ्ठा बिक्री तथा रकम उठाइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

कारबाहीका क्रममा प्रहरीले कम्पनीसँग सम्बन्धित विभिन्न कागजात तथा चिठ्ठा कारोबारमा प्रयोग भएका सामग्री बरामद गरेको छ । बरामद सामग्रीमा ग्राहक दर्ता पुस्तिका, सहभागीहरूको विवरण समेटिएका नामावली, रसिदका अर्धकट्टी तथा अग्रिम बुकिङ फारामलगायतका कागजात रहेका छन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा उक्त गतिविधि कानुनी स्वीकृतिविना सञ्चालन गरिएको र सर्वसाधारणलाई पुरस्कारको आश्वासन दिएर रकम संकलन गरिएको पाइएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका राईविरुद्ध चिठ्ठा ऐन, २०२५ अन्तर्गत मुद्दा दर्ता गरी मोरङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिइएको छ । घटनाको आर्थिक पक्ष तथा संलग्न अन्य व्यक्तिको भूमिकाबारे समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले पछिल्लो समय विभिन्न उपहार योजना, चिठ्ठा तथा पुरस्कार कार्यक्रमको नाममा सर्वसाधारणलाई झुक्याएर रकम असुल्ने गतिविधि बढ्दै गएको भन्दै यस्ता योजनामा सहभागी हुनुअघि कानुनी वैधता र सम्बन्धित निकायको स्वीकृतिबारे यकिन गर्न आग्रह गरेको छ ।