Breaking Nepal

विराटनगर / मनसुनको प्रभाव क्रमशः विस्तार हुँदै जाँदा कोशी प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा आज भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशमा मनसुनी वायु सक्रिय रहेको छ भने देशका अन्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ। यसको असरस्वरूप कोशीसहित वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानले बाढी, पहिरो तथा डुबानको जोखिम बढाएको छ।
मौसमविद्हरूका अनुसार वाग्मती र गण्डकी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।
रातिको समयमा पनि कोशी प्रदेशमा मौसमको प्रभाव कायम रहने देखिएको छ। प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा तराईका केही भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा पुनः भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
उता, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको छ भने वाग्मती र गण्डकीका तराई क्षेत्रमा तापक्रम वृद्धि हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले भारी वर्षा, चट्याङ तथा तातो लहरको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचनामा नियमित रूपमा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ।