आजदेखि सत्तारुढ रास्वपाको महाधिवेशन : १५१ सदस्यीय नेतृत्व संरचना र नयाँ राजनीतिक रोडम्यापको खोजी

Breaking Nepal

आइतबार ,असार ७ , २०८३ ०७:१८

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० आफ्नो स्थापना पछिको पहिलो महाधिवेशनमार्फत संगठनात्मक पुनर्संरचना र दीर्घकालीन राजनीतिक कार्यदिशा तय गर्ने तयारीमा जुटेको छ । भरतपुरमा आजदेखि सुरु हुने महाधिवेशनलाई पार्टीको आगामी राजनीतिक यात्राको ‘टर्निङ प्वाइन्ट’ का रूपमा हेरिएको छ।

पार्टी नेतृत्वले महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रियामा सीमित नराखी संगठन विस्तार, आन्तरिक संरचना सुदृढीकरण तथा राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका थप स्पष्ट पार्ने अवसरका रूपमा प्रस्तुत गरेको छ। यसै सन्दर्भमा पार्टीले केन्द्रीय संरचना विस्तारदेखि महिला सहभागिता सुनिश्चित गर्ने महत्त्वपूर्ण संशोधन प्रस्ताव महाधिवेशनमा लैजाने भएको छ।

महाधिवेशन उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र ९बालेन० शाह सहभागी हुने कार्यक्रम तय गरिएको छ। चितवनस्थित गेष्टहाउस चौरमा आयोजना हुने समारोहका लागि आवश्यक पूर्वाधार, आवास, यातायात, सुरक्षा र स्वयंसेवक व्यवस्थापनको काम सम्पन्न भइसकेको पार्टीले जनाएको छ।

केन्द्रीय संरचनामा व्यापक फेरबदल

महाधिवेशनअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गर्दै केन्द्रीय समितिको आकार १२१ बाट बढाएर १५१ सदस्यीय बनाउने निर्णय गरेको छ। प्रस्तावित संरचनाअनुसार प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन्।

नयाँ व्यवस्थाले पदाधिकारी तहमा महिला सहभागिता अनिवार्य गर्ने व्यवस्था गरेको छ। उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष पदमा कम्तीमा एक महिलाको प्रतिनिधित्व सुनिश्चित गरिने प्रस्ताव गरिएको छ। यसलाई पार्टीभित्र लैङ्गिक समावेशिताको संस्थागत अभ्यासका रूपमा हेरिएको छ।

सभापतिलाई ५१ सदस्य मनोनयन गर्ने अधिकार

प्रस्तावित विधानअनुसार १५१ केन्द्रीय सदस्यमध्ये ९९ जना खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् भने ५१ जना सदस्य सभापतिले मनोनयन गर्न सक्नेछन्। पार्टीभित्र विभिन्न राजनीतिक समूह तथा व्यक्तित्वको समायोजनलाई सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरिएको स्रोतको भनाइ छ।

यससँगै केही प्रमुख पदाधिकारी चयन प्रक्रियामा पनि सभापतिको निर्णायक भूमिका रहने विषयमा छलफल जारी रहेको बताइएको छ।

पाँच लाख सदस्यको दाबी, चार हजार प्रतिनिधिको सहभागिता

रास्वपाले आफ्नो सदस्य संख्या पाँच लाख नाघेको दाबी गरेको छ। पार्टीका अनुसार देशभर ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजारभन्दा बढी वडास्तरीय अधिवेशनमार्फत संगठन विस्तार गरिएको छ।

महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि सहभागी हुनेछन्। तीमध्ये ३०० प्रतिनिधि केन्द्रीय नेतृत्वबाट मनोनित गरिएका हुन्। प्रदेश, जिल्ला र विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया पूरा भइसकेको पार्टीले जनाएको छ।

संगठन विस्तार र रणनीतिक पुनःपरिभाषाको अवसर

रास्वपाले आगामी दिनमा टोल तहसम्म संगठन विस्तार गर्ने लक्ष्यलाई विधानमै समेटेको छ। यद्यपि अन्य दलजस्तै भ्रातृ संगठन निर्माण नगर्ने पुरानै नीति कायम राख्ने संकेत पार्टी नेतृत्वले दिएको छ।

विश्लेषकहरूका अनुसार पहिलो महाधिवेशन रास्वपाका लागि संगठन निर्माणको औपचारिक प्रक्रिया मात्र नभई वैकल्पिक राजनीतिक शक्तिको दाबीलाई संस्थागत रूप दिने अवसर पनि हो। निर्वाचनमार्फत प्राप्त जनसमर्थनलाई स्थायी राजनीतिक संरचनामा रूपान्तरण गर्न सक्ने वा नसक्ने भन्ने प्रश्नको उत्तर पनि यही महाधिवेशनले दिने अपेक्षा गरिएको छ।