Breaking Nepal

विराटनगर / मनसुन प्रणाली कोशी प्रदेशमा सक्रिय रहे पनि देशका अन्य भूभागतर्फ पर्याप्त रूपमा विस्तार हुन नसक्दा सोमबार पनि मौसम मिश्रित रहने भएको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहँदा मधेस, लुम्बिनी र सुदूरपश्चिमका केही भूभागमा गर्मी तथा तातो हावाको प्रभाव कायम रहने मौसमविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको मुख्य प्रभाव कोशी प्रदेशमै केन्द्रित रहेको छ। यसका कारण प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।
दिउँसो कोशी प्रदेशका तराई क्षेत्रसहित पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। यस्तै, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। तर ती प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
मौसमविद्का अनुसार मनसुन प्रणाली पूर्वी नेपालबाट पश्चिमतर्फ अपेक्षित गतिमा विस्तार हुन नसक्दा मधेस तथा पश्चिम नेपालका केही भूभागमा तापक्रम उच्च रहनुका साथै तातो हावाको असर देखिएको छ। त्यसैले अत्यधिक गर्मी हुने क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
विभागले वर्षा हुने सम्भावना रहेका क्षेत्रमा पहिरो, भूक्षय तथा आकस्मिक बाढीको जोखिमप्रति सजग रहन तथा गर्मी प्रभावित क्षेत्रमा स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।