अन्तर्राष्ट्रिय योग दिवसमा श्रीहरि सत्संग समितिद्वारा देशभर योग शिविर

Breaking Nepal

आइतबार ,असार ७ , २०८३ १८:२७

विराटनगर / अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा श्रीहरि सत्संग समिति नेपाल मोरङ जिल्ला समिति र लायन्स क्लब विराटनगरको संयुक्त आयोजनामा मोरङमा एकदिने योग शिविर सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष ओमप्रकाश अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका राष्ट्रिय अध्यक्ष भीखमचन्द सरल प्रमुख अतिथि थिए । योग शिविरमा मुख्य प्रशिक्षकका रूपमा पण्डित चन्द्रमणि गुरागाईंले सहजीकरण गरेका थिए । कार्यक्रममा लायन्स क्लबका प्रतिनिधि मनोज मुन्धडा, ग्राम संगठनका राष्ट्रिय अध्यक्ष विद्यानन्द माझीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन मञ्जुदेवी अग्रवालले दीप प्रज्वलन गरी गरेकी थिइन् भने संस्कार वन्दना जिल्ला प्रमुख उर्मिला मण्डलले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा मुख्य प्रशिक्षक गुरागाईंलाई ग्राम संगठनका राष्ट्रिय अध्यक्ष माझीले माला तथा खादा ओढाएर सम्मान गरेका थिए ।

शिविरमा प्रशिक्षक गुरागाईंले विभिन्न योग अभ्यास गराउँदै योगका शारीरिक, मानसिक तथा सामाजिक लाभबारे जानकारी दिएका थिए । योग कुनै विशेष दिवसमा मात्र सीमित नभई दैनिक जीवनशैलीको अभिन्न हिस्सा बन्नुपर्नेमा जोड दिँदै विद्यानन्द माझीले स्वस्थ र अनुशासित जीवनका लागि योगको महत्त्व उल्लेख गरे ।

कार्यक्रमको समापन गर्दै जिल्ला अध्यक्ष अग्रवालले सहभागी, आयोजक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरे ।

यसैबीच, श्रीहरि सत्संग समिति नेपालले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा देशका १६ जिल्लाका २२ स्थानमा योग शिविर सञ्चालन गरी योगप्रति जनचेतना अभिवृद्धि गर्ने अभियानलाई व्यापक बनाएको जनाएको छ ।