Breaking Nepal

विराटनगर / लागूऔषध दुर्व्यसनमा संलग्न रहेको आरोपमा सुधारगृह पठाउने तयारी गरिएका एक युवकले विराटनगरमा प्रहरी र सुधारगृहका कर्मचारीमाथि धारिलो हतियार प्रहार गर्दा तीन जना घाइते भएका छन् । करिब एक घण्टासम्म तनावपूर्ण बनेको घटनापछि प्रहरीले भर्याङको सहारा लिएर ती युवकलाई नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१ स्थित ठूलो मिल दक्षिण क्षेत्रमा डेरा गरी बस्दै आएका २९ वर्षीय रुबिण कार्कीले आइतबार दिउँसो प्रहरीमाथि आक्रमण गरेका हुन्। रामेछाप स्थायी घर भएका कार्की विगत १५ वर्षदेखि आमासँग विराटनगरमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार कार्कीलाई काठमाडौंस्थित ‘साथीभाइ नेपाल’ सुधारगृह पठाउने तयारी भइरहेका बेला उनले जान अस्वीकार गर्दै आफूलाई कोठाभित्र थुनेका थिए। त्यसक्रममा आत्महत्याको प्रयास गरेको आशंकापछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।
घटनास्थल पुगेको सीआरभी भट्टाचोकको प्रहरी टोली तथा सुधारगृहका प्रतिनिधिले उनलाई सम्झाएर बाहिर निकाल्ने प्रयास गरेका थिए । तर, कार्कीले ओछ्यानमुनि लुकाएर राखेको भान्साको चक्कु निकालेर प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र सुधारगृहका कर्मचारी सन्तोष सापकोटामाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।
आक्रमणबाट तीनै जनाको टाउकोमा चोट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। घाइतेहरूलाई तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको छ । अस्पताल स्रोतका अनुसार उनीहरूको अवस्था खतरामुक्त रहेको छ ।
चक्कु प्रहार गरेपछि कार्की पुनः कोठाभित्र पसेर ढोका बन्द गरी बसेका थिए। स्थिति जटिल बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट थप प्रहरी परिचालन गरिएको थियो ।
प्रहरीले बारम्बार आत्मसमर्पण गर्न आग्रह गरे पनि अस्वीकार गरेपछि अन्ततः स्टिलको भर्याङ प्रयोग गरी झ्यालबाट कोठाभित्र प्रवेश गरेको थियो । करिब एक घण्टाको प्रयासपछि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।
हाल कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनी लामो समयदेखि लागूऔषध दुर्व्यसनमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति र आक्रमणको गम्भीरता हेर्दै उनीविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।