रास्वपाले बनायो महाधिवेशन निर्वाचन टोली, २२ जनालाई जिम्मेवारी

Breaking Nepal

आइतबार ,असार ७ , २०८३ १८:००

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न गर्न २२ सदस्यीय निर्वाचन संयन्त्र गठन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आइतबार सूचना जारी गर्दै महाधिवेशन लक्षित निर्वाचन संरचना सार्वजनिक गरेको हो ।

सूचनाअनुसार १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग र त्यसअन्तर्गत १२ सदस्यीय ‘राष्ट्रिय महाधिवेशन निर्वाचन समिति–२०८३’ गठन गरिएको छ । महाधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया सञ्चालन, व्यवस्थापन तथा अनुगमनको जिम्मेवारी यी निकायले वहन गर्नेछन् ।

केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी नियुक्त भएका छन् भने उपप्रमुखमा डा. राम गुरुङ रहेका छन् । आयोगका सदस्यहरूमा कुमार आनन्द मिश्र, नारायणप्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बीपी दाहाल, सौरेन्द्रबहादुर शाह र सुदनप्रसाद ज्ञवाली रहेका छन् ।

यस्तै, महाधिवेशनको निर्वाचन प्रक्रिया प्रत्यक्ष रूपमा सञ्चालन गर्न गठित राष्ट्रिय महाधिवेशन निर्वाचन समितिमा वीरेन्द्र केएम, गणेशदत्त भट्ट, डा. दिनेश महतो, आयुष्मा अर्याल, भूपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा सदस्य चयन भएका छन् ।

निर्वाचन समितिको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्रकुमार श्रेष्ठ र मुकेश झालाई सहयोगी भूमिकामा जिम्मेवारी तोकिएको छ ।

रास्वपाले महाधिवेशनलाई संस्थागत सुदृढीकरण, नेतृत्व चयन तथा भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। पार्टीको राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनमा सुरु भएको छ ।