Breaking Nepal

बेलबारी / मोरङको बेलबारी नगरपालिका–१ स्थित एक कपडा उद्योगमा सोमबार दिउँसो आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
महमद लियाकत मियाँले सञ्चालन गर्दै आएको सलमान कपडा उद्योगमा दिउँसो करिब २ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । टिनको बेरा र टिनकै छानो भएको एकतले टहरामा सञ्चालित उद्योगमा अचानक आगो लागेपछि स्थानीयवासीले तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । आगो नियन्त्रणका लागि बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाका वारुणयन्त्र परिचालन गरिएको थियो । प्रहरी, स्थानीयवासी र वारुणयन्त्रको संयुक्त प्रयासमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट सिरक–डसना उत्पादनमा प्रयोग हुने मेसिन, एक थान विद्युत् उत्पादक यन्त्र, एक थान रुवा प्रशोधन मेसिन, ठूलो परिमाणमा कच्चा तथा प्रशोधित रुवा, कपडा र तयारी सामग्री जलेर नष्ट भएको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट उद्योगमा करिब १२ लाख रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । उद्योगमा रहेका सिरक, डसना तथा अन्य तयारी सामग्रीसमेत ठूलो मात्रामा नष्ट भएका छन् ।
घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।