Breaking Nepal

दोहा / कतारको प्रमुख ऊर्जा केन्द्र रस लाफान औद्योगिक क्षेत्रमा रहेको ग्यास उत्पादन प्लान्टमा आइतबार भएको भीषण विस्फोटमा नेपाली नागरिकसमेत घाइते भएका छन् । घटनामा १२ भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने विभिन्न देशका ६६ जनाभन्दा बढी कामदार घाइते भएका छन् ।
कतारका ऊर्जा मन्त्री साद अल–काबीले सोमबार पत्रकार सम्मेलनमार्फत मृत्यु र घाइतेको विवरण सार्वजनिक गर्दै घटनामा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया तथा नाइजेरियाका नागरिक प्रभावित भएको जानकारी दिएका हुन्। घाइतेहरूको उपचार जारी रहे पनि उनीहरूको नामावली सार्वजनिक गरिएको छैन।
दोहास्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जारी गरेको वक्तव्यमा घटनामा १२ भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। दूतावासले कतारी अधिकारीहरूको भनाइ उद्धृत गर्दै घाइते सबैको अवस्था स्थिर रहेको र आवश्यक उपचार उपलब्ध गराइएको जनाएको छ।
घटनापछि पश्चिम एसियामा जारी भू–राजनीतिक तनावका कारण सम्भावित आक्रमणको आशंका गरिएको थियो। तर कतार सरकारले प्रारम्भिक अनुसन्धानका आधारमा विस्फोटलाई औद्योगिक दुर्घटना भएको निष्कर्ष निकालेको छ।
ऊर्जा मन्त्री अल–काबीले “यो तोडफोड वा शत्रुतापूर्ण गतिविधिको परिणाम नभई दुर्घटना हो” भन्दै आक्रमणसम्बन्धी अड्कलबाजीलाई खारेज गरेका छन्।
प्रत्यक्षदर्शीका अनुसार विस्फोटपछि प्लान्ट क्षेत्रमा ठूलो आगोको ज्वाला देखिएको थियो भने बाक्लो धुवाँ आकाशमा फैलिएको थियो। विस्फोटको ध्वनि करिब ६४ किलोमिटर टाढासम्म रहेको दोहा शहरमा समेत सुनिएको बताइएको छ। आगलागी भने आइतबार रातिनै नियन्त्रणमा ल्याइएको थियो।
कतारको ऊर्जा पूर्वाधारका लागि रणनीतिक महत्व बोकेको रस लाफान क्षेत्र विगतमा पनि क्षेत्रीय द्वन्द्वको प्रभावमा परेको थियो। इरानसँग सम्बन्धित सैन्य गतिविधिका क्रममा यस क्षेत्रमा क्षति पुगेपछि कतारले केही समय ग्यास उत्पादन स्थगित गर्नुपरेको थियो।
यद्यपि पछिल्लो घटनाले कतारको ग्यास निर्यात, ऊर्जा आपूर्ति तथा आन्तरिक आवश्यकतामा कुनै असर नपार्ने ऊर्जा मन्त्री अल–काबीको दाबी छ। उनले वातावरणीय जोखिमसमेत नदेखिएको स्पष्ट पारेका छन्।
विश्वकै प्रमुख तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यातकर्ता मुलुक कतारको ऊर्जा उद्योगका लागि महत्वपूर्ण मानिने रस लाफान क्षेत्रमा भएको यस दुर्घटनाले औद्योगिक सुरक्षा र पूर्वाधार व्यवस्थापनबारे पुनः बहस सुरु गराएको छ।