विराटनगर आगजनी प्रकरणका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि कारागार चलान

Breaking Nepal

शुक्रबार ,असार १२ , २०८३ १९:५३

विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगरमा जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोड प्रकरणका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत मोरङले शुक्रबार अन्सारीलाई नापी कार्यालयमा भएको आगजनी तथा तोडफोडसँग सम्बन्धित आपराधिक उपद्रव मुद्दामा थुनामा राखेर अनुसन्धान तथा पुर्पक्ष अघि बढाउन आदेश दिएको हो । आदेशपछि उनलाई जिल्ला कारागार मोरङ पठाइएको अदालतले जनाएको छ ।

लामो समयदेखि फरार रहेका अन्सारी शुक्रबार आफैं अदालतमा उपस्थित भएका थिए। बयान र थुनछेक बहसपछि अदालतले थुनामा राख्ने आदेश दिएको हो । यद्यपि, जिल्ला सरकारी वकिल कार्यालयसँग सम्बन्धित अर्को आपराधिक उपद्रव मुद्दामा भने अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। उक्त धरौटी रकम भने हालसम्म दाखिला भएको छैन ।

गत वर्ष भदौ २४ गते विराटनगरमा भएको हिंसात्मक घटनामा सरकारी कार्यालय, सार्वजनिक संरचना तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । प्रहरी अनुसन्धानले केही सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीको नेतृत्व अन्सारीले गरेको निष्कर्ष निकालेपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

यसअघि पक्राउ परेर हाजिरजमानीमा छुटेका अन्सारी पछि अदालतमा उपस्थित नभएपछि फरार प्रतिवादी घोषित भएका थिए । अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनी पक्राउ परेका थिएनन् । अन्ततः अदालतमा स्वेच्छिक रूपमा उपस्थित भएपछि उनी कारागार चलान भएका छन् । यस प्रकरणका अन्य अभियुक्तविरुद्धको मुद्दा भने अदालतमा विचाराधीन छ ।