Breaking Nepal

विराटनगर / सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनीष थापाले मोरङमा सञ्चालन भइरहेको समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक निर्माणसम्बन्धी तालिम तथा सचेतनामूलक कार्यक्रमको अनुगमन तथा निरीक्षण गरेका छन् ।
अनुगमनका क्रममा डीआईजी थापाले सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेक्वा कंकालिनी, मोरङको संयोजनमा रंगेली नगरपालिका–४ स्थित वडा कार्यालय भवनमा सञ्चालन भइरहेको तालिमको निरीक्षण गरेका हुन् । मोरङ जिल्लाका विभिन्न स्थानीय तहबाट सहभागी ४० जना स्वयंसेवकलाई विपद् व्यवस्थापनसम्बन्धी सीप र क्षमता विकासका लागि तालिम प्रदान भइरहेको छ ।
निरीक्षणका क्रममा उनले सीमा सुरक्षा गुल्म बरडंगाको नवनिर्मित भवन, बिओपी रंगेली, धनापट्टी क्षेत्रका सीमावर्ती सुरक्षा पोस्ट तथा सुरक्षा बेस लक्ष्मीमार्गको समेत निरीक्षण गरेका थिए ।
सो अवसरमा डीआईजी थापाले सीमाक्षेत्रमा हुने चोरी–तस्करी, लागूऔषध ओसारपसार तथा अन्य सीमा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन सुरक्षा संयन्त्रलाई सक्रिय र परिणाममुखी रूपमा परिचालन हुन निर्देशन दिए । उनले मनसुनजन्य विपद्का सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धार सामग्रीसहित चौबीसै घण्टा तयारी अवस्थामा रहन र विपद् उद्धार तथा राहत कार्यमा प्रभावकारी परिचालन सुनिश्चित गर्न पनि निर्देशन दिए ।
अनुगमन तथा अन्तरक्रियाका क्रममा उनले कार्यरत सशस्त्र प्रहरी कर्मचारीसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूले भोगिरहेका समस्या, चुनौती र सुझावबारे जानकारी लिएका थिए । साथै संगठनको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित आवश्यक नीति तथा कार्यगत निर्देशनसमेत दिएका थिए ।
सशस्त्र प्रहरी बलले समुदायमा आधारित विपद् व्यवस्थापन क्षमता अभिवृद्धिसँगै सीमासुरक्षा सुदृढीकरणलाई समानान्तर रूपमा अघि बढाउँदै गएको जनाएको छ ।